नेविसंघ कांग्रेसको सन्तान हो, यसको भूमिका अझ सशक्त हुनुपर्छः महामन्त्री घिमिरे
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
715
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएका छन्। आइतबार पार्टी कार्यालय सानेपामा नेविसंघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै महामन्त्री घिमिरेले नेपालको इतिहासबाट नेविसंघलाई अलग राख्ने हो भने इतिहास नै अधुरो र अपुरो हुने उल्लेख गरे।
वि.सं. २०२७ सालमा पञ्चायती कालरात्रि विरुद्ध विद्यार्थीलाई सङ्गठित गरी प्रजातान्त्रिक आन्दोलनलाई सुदृढ बनाउन नेविसंघको स्थापना भएको स्मरण गर्दै उनले कतिपय सन्दर्भमा पार्टीले भन्दा पनि बढी यस संस्थाले कुर्बानी र बलिदान गरेको बताए।
मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थिति र निर्वाचनबाट नयाँ दलहरूको उदय भएको सन्दर्भमा नेविसंघको भूमिका अझ सशक्त हुन आवश्यक रहेको घिमिरेको भनाइ छ। उनले नेपालमा ४० वर्ष मुनिका झन्डै १ करोड २० लाख युवा जनमत रहेको तथ्यलाई औँल्याउँदै कुनै पनि राजनीतिक दलले यो जनमतलाई उपेक्षा गर्नु 'मूर्खता' हुने चेतावनी दिए।
उनले भने, “कुनै पनि दलको भ्रातृ संस्था रहने वा नरहने भन्ने कुरा पार्टीकै अधिकार क्षेत्रभित्रको विषय हो। तर, नेपालको राजनीतिलाई परिवर्तन गर्न नेविसंघको ठुलो योगदान छ। यस्तो संस्थाका बारेमा हामी गम्भीर छौँ। पार्टीले छिट्टै नेविसंघ लगायत अन्य भ्रातृ संस्थाहरूका विषयमा संस्थागत निर्णय गरी अझ प्रभावकारी भूमिकाका साथ अगाडि बढाउन मार्गनिर्देश गर्नेछ।”
नेपाल तरुण दल र नेपाल महिला संघ लगायतका भ्रातृ संस्थाहरूका विषयमा पनि पार्टीले निर्णय लिने तयारी गरिरहेको उनले जानकारी दिए। आइतबार बिहान नेविसंघका आस्थावान कार्यकर्ताहरूको टोलीले 'सिनेट बैठक' को नाममा भएका गतिविधिहरू अवैधानिक भएको आरोप लगाउँदै ज्ञापनपत्र बुझाएको हो।
वर्तमान नेतृत्वद्वारा सञ्चालित बैठकमा गणपूरक सङ्ख्या (कोरम) समेत नपुगी निर्णयहरू गरिएको र त्यसले संगठन तथा पार्टी दुवैको गरिमामा आँच पुर्याएको उनीहरूको ठहर छ। महामन्त्री घिमिरेले नेविसंघका पछिल्ला गतिविधिहरूलाई पार्टीले सूक्ष्म रूपमा नियालिरहेको समेत बताएका छन्।