कांग्रेसको निष्कर्ष: २१ क्षेत्रमा आफ्नैबाट अन्तर्घात, क्रियाशील सदस्य बढे पनि मत घटेकोमा चिन्ता [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
896
Shares
काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोग्नुपरेको निष्कर्ष निकालेको छ। पार्टीको जारी केन्द्रीय समितिको बैठकमा चुनावी परिणामको सूक्ष्म विश्लेषण गर्दै कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार ३ देखि ५ हजारभन्दा कम मतान्तरले पराजित भएका क्षेत्रहरूमा मुख्य रूपमा आन्तरिक कारण र अन्तर्घात जिम्मेवार देखिएको छ। "३ हजारदेखि ५ हजारसम्मको मतान्तरले हार भएका क्षेत्रहरूमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमा पनि कमजोरी देखियो," प्रवक्ता चालिसेले भने।
५ हजारदेखि १० हजारसम्मको ठुलो मतान्तरमा पराजित भएका क्षेत्रहरूमा भने अन्तर्घात, कमजोर चुनावी 'क्याम्पेन' र विपक्षीले खडा गरेको प्रतिकूल ‘न्यारेटिभ’ (भाष्य) का कारण पार्टी रक्षात्मक बनेको कांग्रेसको ठम्याइ छ। कतिपय क्षेत्रमा सांगठनिक कमजोरी मात्र नभई मतदाताको कांग्रेसप्रतिको विश्वासमै कमी आएको समेत समीक्षा बैठकमा उठाइएको छ।
प्रवक्ता चालिसेले पार्टीको क्रियाशील सदस्य संख्या बढ्दै जाने तर निर्वाचनमा प्राप्त हुने मत भने घट्दै जानुलाई 'चिन्ताजनक' बताएका छन्। तथ्याङ्क प्रस्तुत गर्दै उनले भने, “९ औँ महाधिवेशनमा करिब १ लाख सदस्य रहेका कांग्रेसमा १४ औँ महाधिवेशनसम्म आइपुग्दा ८ लाख ७० हजार पुगेका छन्। तर, निर्वाचनमा कांग्रेसले जम्मा १७ लाख ५९ हजार मत पाउनु गम्भीर प्रश्न हो।” ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको पार्टीमा एउटा घरमा ४ जना सदस्य हुँदा पनि योभन्दा निकै बढी मत आउनुपर्ने उनको तर्क छ।
केन्द्रीय समिति बैठकमा हाल मुख्यतया दुई विषयमा छलफल केन्द्रित छ । निर्वाचनको विस्तृत समीक्षा र अन्तर्घातको छानबिन। सभापतिको राजीनामा र नेतृत्व परिवर्तनको प्रसङ्ग।
प्रवक्ता चालिसेका अनुसार कांग्रेसको परम्परागत 'भोट बैंक' किन र कसरी अन्यत्र ट्रान्सफर भयो भन्नेबारे गहन छलफल भइरहेको छ। यो केवल मतको स्थानान्तरण मात्रै हो कि मतदाताको 'माइन्डसेट' नै परिवर्तन भएको हो भन्ने विषयलाई पार्टीले गम्भीरतापूर्वक हेरिरहेको छ। बैठकले कांग्रेसलाई पुन: सशक्त बनाएर जनतामाझ लैजाने गरी ठोस कार्यदिशा तय गर्ने विश्वास लिइएको छ।