मेलम्चीको पानीले खोला भरिए पनि दुर्गन्ध उस्तै, ढल प्रशोधन नहुँदा काठमाडौँका नदी प्रणाली मृत अवस्थामा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
809
Shares
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका नदी–खोलाहरू अहिले बाहिरी रूपमा बगिरहेको देखिए पनि वास्तविकतामा ती ढलको बहावमा परिणत भएका छन्। उपत्यकाका प्रमुख नदीहरूमा जलजीव बाँच्न सक्ने न्यूनतम अवस्था समेत नरहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार मेलम्ची खानेपानी आयोजनाबाट दैनिक करिब १७ करोड लिटर पानी उपत्यकामा भित्रिन थालेपछि केही खोलामा पानीको सतह त बढेको छ, तर त्यो सफा हुनुको साटो ढलसँग मिसिएर पुनः प्रदूषित बन्ने गरेको छ।
महानिर्देशक श्रेष्ठले भने, “खोलामा पानी बगिरहेको देखिए पनि त्यो ढलजस्तै हो। त्यस्तो पानीमा माछा लगायत कुनै पनि जलजीव बाँच्न सम्भव छैन।” बागमती, विष्णुमती, धोबीखोला र टुकुचा सबैमा मुख्य समस्या अव्यवस्थित ढल विसर्जन नै रहेको उनको ठम्याइ छ। घरायसी र व्यावसायिक क्षेत्रबाट निस्कने फोहोर पानी सिधै खोलामा मिसाउँदा नदीको गुणस्तर अत्यन्त खराब बनेको छ।
सरकारले नदी सफाइका लागि विभिन्न स्थानमा फोहोरपानी प्रशोधन केन्द्रहरू निर्माण गरिरहेको छ। गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रले पानी सफा गरेर छोड्ने गरे पनि माथिल्लो तटीय क्षेत्रबाटै ढल मिसिएर आउने हुनाले समग्र सुधार देखिन सकेको छैन। हाल धोबीघाटमा अर्को प्रशोधन केन्द्र निर्माणको चरणमा छ, जसले धोबीखोलाको प्रदूषण घटाउने अपेक्षा गरिएको छ।
महानिर्देशक श्रेष्ठले केवल केही केन्द्रहरूले मात्र समस्या समाधान नहुने भन्दै मुहानदेखि नै सुधारका काम थाल्नुपर्नेमा जोड दिए। “स्रोतमै प्रदूषण रोक्न सके मात्र दीर्घकालीन समाधान सम्भव छ,” उनले भने।
काठमाडौँका नदीहरू यहाँको सभ्यता र संस्कृतिसँग जोडिएका भए पनि अहिलेको प्रदूषित अवस्थाले सहरी सौन्दर्यलाई कुरूप बनाएको छ। विभागले हालको अवस्था निकै चुनौतीपूर्ण रहेको स्वीकार गरे पनि दीर्घकालीन योजनामार्फत नदीहरूलाई पुरानै अवस्थामा फर्काउने लक्ष्य राखेको छ।
अहिलेको स्थितिमा काठमाडौँको नदी प्रणालीमा कुनै पनि जलचर बाँच्न सक्ने वातावरण नभए पनि संरचनागत सुधार र प्रभावकारी ढल व्यवस्थापन मार्फत यी खोलाहरूलाई पुनः जीवन्त बनाउनु अपरिहार्य देखिएको छ।