काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको नेता चयनका लागि आगामी बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ। प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणलगत्तै बस्ने यो बैठकले दलको नेतृत्व र आगामी राजनीतिक कदमबारे महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।
यही चैत १२ गते अपराह्न २:०० बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण समारोह तय भएको छ। सोही दिन दिउँसो ४:०० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा सबै केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट गरी कुल १८२ सिटमा जित हासिल गर्दै संसद्मा बलियो उपस्थितिको तयारी गरेको छ। बैठकमा संसदीय दलको नेता चयनका अतिरिक्त समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल हुने प्रवक्ता झाले बताए।