तपाईं झापाबाट ह्वाँसँग चुनाव लड्न जान्छु भन्दै गर्दा थोरै डर लागेको थियो र पत्याउन सकेको थिइन । तपाईँले हार्दा पनि इज्जतै पाउनु हुन्छ भन्ने चाहिँ लागेको थियो । तपाईं काठमाडौँको मेयर पदका लागि चुनावमा उठ्दा पनि जित्नु हुन्छ भनेर पत्याउने ४० वर्ष काटेका मानिस भेट्न मुश्किलै थियो।
मुरली बाजेका आफन्त अनि अर्को ह्वाँका विश्वास पात्रकै आफन्तसँग चुनाव लड्दै गर्दा बेस्सरी हार्नु हुन्छ र खुशी हुन पाइन्छ भन्नेहरु धेरै थिए । धेरैलाई थाहा नभएको तपाईंको चुनाव चिन्ह लौरोको बारेमा मेरो भर्खर १५ वर्षको सानो छोराले बाबा यस पटक बालेनलाई भोट दिनु पर्छ भनेर भन्दै गर्दा यसको दिमागमा कसले के भरेको छ जस्तो लाग्थ्यो।
छोरोले एक पटक लौरोमा भोट हालेर हेर्नुस्न भने अनि लौरो कस्तो रहेछ भनेर हेरेँ। नतिजा सपना नै हो जस्तो आयो लौरोले जित्न सफल हुनुभयो। खुशी लाग्यो। यो मेरो छोरो म भन्दा पनि निकै बाठो रहेछ भन्ने प्रमाणित भयो।
ठूलो छोराले यस पटकको चुनावमा बाबा मिल्छ भने पुराना मुरली बाजे, सुन बाजे, जहाज बाजेहरु भन्दा अरुलाई भोट हाल्न पर्यो भने । अनि म र श्रीमती मिलेर बजाई दियौँ, अनि वरिपरि चिनजानका हामीले भन्न मिल्नेहरुलाई पनि बजाउँन त यस पटक भनेर सल्लाह दियौँ ।
नतिजा आज उहाँनै हाम्रो क्षेत्रको समुद्रपार हेर्ने विभाग सम्हाल्न पुग्नुभयो। हाम्रो घरका सबैजना विश्वसनीय ज्योतिष हौँ कि जस्तो पनि लाग्छ। ज्योतिष चाहिँ मेरा २ छोरालाई बनाउँदा हुन्छ भन्ने पनि लाग्छ ।
हामी पहिला पनि अन्दाजमा यहीमात्र ठीक छ भन्ने विचारका थिएनौँ । कहिले माओवादी राम्रो जस्तो लाग्थ्यो, कहिले एमाले ठीक हो कि जस्तो लाग्थ्यो, कहिले रूखले छहारी दिन्छ जस्तो लाग्ने खाले थियौँ । तर हामीलाई कोहि पनि ठीक हैनन भन्ने प्रमाणित गर्नका लागि तिनैका टाउकेहरूले विगत झण्डै ३० वर्षमा देखाउन मिल्ने जति सबै हेर्न नमिल्ने जन्तु देखाएर प्रमाणित गरिदिएको हुँदा हाम्रो विकल्प कहिँ बाँकी थिएन् ।
यस पटकको नतिजा निर्वाचन हुनु भन्दा अगाडि नै ५ जनाले विश्वास गरे अनुसार नै आयो। एक जना सेतोपाटीका, एक जना उहाँले नै नतिजा निकाल्ने जस्तै आँकलन गर्ने व्यक्ति, एक जना चाहिँ बहुमत भन्दा थोरै आँकलन गर्ने म, अनि यस देशबाट कम्युनिष्ट नामको पसल ३० प्रतिशत भन्दा तल झर्छ भन्ने भारत र अमेरिकाका बेनामे सरहरूमात्र थियौँ ।
नतिजा आखिर बजाएर नै आयो। यो उल्लासमय नतिजा तपाईँ एक जनालाई विश्वास गरेर आएको बारेमा कसैले अवमूल्यन नगरुन्, तपाईँ मधेसको छोरा भनेर ३२ निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशबाट ३१ ले तपाईँलाई रोजे त्यहाँ हाम्रो गोर्खामा हरेक दिन दुःख दिने बाँदरलाई उठाएको भए पनि जित्ने अवस्था रहेको प्रमाणित गरिदिनु भयो।
यस किसिमको नतिजा आउनुमा विगतदेखि केही सीमित सँगारहरुको विश्वास र डरमा रहेका मधेसका जनताको सम्मानजनक जीउने आधारका लागि तपाईँलाईनै छनोट गरेको नतिजा हो । यसलाई कहिल्यै नभुल्नुस्। तपाईं साँच्चै नै प्रधानमनी हुनुभयो, तपाईं काठमाडौँको मेयरका लागि उठ्दा पनि चमत्कार गर्न हामीले नचाहेर पनि सहयोग गर्यौं र आज प्रधानमन्त्री हुँदा पनि दिलबाट नचाहँदा पनि बाध्य भएका छौँ ।
तपाईं ३६ वर्षको उमेरमा देशको प्रधानमन्त्री त्यो पनि १९औँ शताव्दीमा बस्ने जनता जस्तै व्यवहार गर्ने देश नेपालमा। हे बाहो, यो त अति भयो, नेपाल साँच्चै भगवानहरूको वासस्थान भएकोले मात्र सम्भव यो भयो भन्ने लाग्छ।
पत्याउनै सकेको छैन मैले, टाउको समाएर आफैलाई चिमोटदै छु, म सपनामा हो की विपनामा ?
तपाईं युवा प्रधानमन्त्री हुनु भएको छ, संसारमा एक जना भाग्यमानी कोही छ भने त्यो तपाईं मात्र हो र हामी जनताले केही नयाँ खोजेका छैनौं । हामीलाई अनैतिक कार्यबाट जोगाइदिनुस्, भ्रष्टाचारबाट जोगाइदिनुस्, जथाभावी गर्नेलाई ठेगान लगाइदिनुस्, गरिबले दुई छाक खानका लागि परिश्रम गर्ने सहज पहुँचका साथै उचित पारिश्रमिक पाउने वातावरण मिलाइदिनुस् ।
हाम्रो पुस्ताले भावी सन्ततिका लागि उदाहरणीय नेपाल बनाउनका लागि प्रयास गरिदिनुस् । निर्माण भैसकेको बाटोलाई बिगारेर बाटो पूरेर फ्लाईओभर, अण्डरग्राउण्ड बनाउन नखोज्नुस्, केही पनि आवश्यक छैन ।
बाटोमा जथाभावी थुक्ने, खकार्ने, फोहर फाल्ने कुलङ्गारहरुलाई गतिलो जरिबाना गर्ने व्यवस्था मिलाउनुस र राजस्व संकलन गर्नुस्। नेपाल पनि मानिस जस्तै आकारका बस्ने देश होइन साँच्चै २१औँ शताब्दीका मानिसमात्र बसोबास गर्ने देश हो भन्ने परिचय गराइदिनुस् । तपाईंको काममा बाधा अड्चन खडा गर्न कोही आएमा थन्क्याई दिनुस् केही फरक पर्दैन ।
तपाईंलाई बधाई दिनका लागि शब्दहरु नै छैनन् । कसरी यो सम्भव भयो, हे बाहो यो कसरी सम्भव छ ? तपाईंलाई पनि विश्वास छैन होला मलाई कसरी हुनु ? तपाईं आजबाट साँच्चै नेपालको प्रधानमन्त्री हो है ।
सम्भव नभए पनि इमान्दारी देखाएर राम्रो गर्नुस्। भगवानले तपाईंलाई छान्नु भयो। अब ५ वर्षका लागि तपाईंकै जिम्मामा छ हाम्रो देश। हाम्रो देश चाहीँ जोगाई दिनुस्। फेरि भोली मुरली बाजे र कसैले गाली गर्ने वातावरण नबनोस् ।
अब तपाईं हाँस्नुस, अनि देशलाई माया गर्नुस् है। विश्वलाई नै प्यारी सुशीला दिदीले पाठ सिकाउनु भएको छ । प्रधानमन्त्रीज्यू अब तपाईंको पालो ।