मधेस प्रदेशमा सेवा प्रवाहमा देखिएका समस्या र विकास निर्माणमा भइरहेको ढिलासुस्तीप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
775
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनले मधेस प्रदेशबाट निर्वाचित सांसदहरूसँग क्षेत्रगत तथा प्रदेशगत समस्याका बारेमा सामूहिक छलफल गरेका छन्।
बुधबार भएको उक्त भेटघाटमा प्रधानमन्त्री साहले मधेसको शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सिँचाइ तथा भौतिक निर्माणका कार्यमा देखिएका अवरोध र समाधानका उपायबारे सांसदहरूबाट ब्रिफिङ लिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बताए।
छलफलका क्रममा सांसदहरूले मधेस प्रदेशमा सेवा प्रवाहमा देखिएका समस्या र विकास निर्माणमा भइरहेको ढिलासुस्तीप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
सांसद झाले रेडक्रसको नाममा भइरहेको संगठित भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरी नयाँ संरचना बनाउनुपर्ने माग राखेको जानकारी दिए।
साथै, विभिन्न जिल्लाहरूमा सर्वसाधारणको मुद्दा दर्ता गर्न आनाकानी गर्ने प्रवृत्ति बढेकाले त्यसलाई तत्काल रोक्न प्रधानमन्त्रीलाई आग्रह गरिएको उनले बताए।
सांसद झाका अनुसार प्रधानमन्त्री साहले छलफलमा उठेका विषयलाई गम्भीरतापूर्वक लिँदै तत्काल गर्न सकिने कामहरूको सूची तयार गर्न निर्देशन दिएका छन्।
रेडक्रसमा भइरहेको अनियमितता रोक्न र मुद्दा दर्तामा हुने ढिलासुस्ती अन्त्यका लागि आफूले आजै मुख्य सचिव र प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेको उनले बताए।