खड्कालाई लेटरप्याड प्रयोग गरी वक्तव्यबाजी नगर्न कांग्रेसको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
941
Shares
काठमाडौँ ।नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई अनधिकृत रूपमा पार्टीको लेटरप्याड प्रयोग गरी वक्तव्यबाजी नगर्न चेतावनी दिएको छ। बुधबार पार्टी मुख्यालय सानेपामा बसेको समितिको बैठकले खड्काले गत चैत १४ गते आफूलाई 'कार्यवाहक सभापति' को हैसियतमा प्रस्तुत गर्दै नक्कली लेटरप्याडमार्फत वक्तव्य जारी गरेको निष्कर्ष निकालेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउको विरोधमा खड्काले जारी गरेको उक्त वक्तव्य अधिकारिक नभएको भन्दै समितिले आइन्दा यस्ता गतिविधि नगर्न उनलाई सचेत गराएको छ। समितिका संयोजक तारामान गुरुङले यस्ता अनधिकृत कार्य तत्काल बन्द नभए पार्टीको विधान र प्रचलित कानुनबमोजिम जो कोहीलाई पनि कारबाही गरिने स्पष्ट पारेका छन्।
यसका साथै बैठकले २०८२ सालको प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीको अनुशासन उल्लंघन गर्ने सदस्यहरूका विरुद्ध उजुरी आह्वान गर्ने निर्णय समेत गरेको छ। निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका, विपक्षीको प्रस्तावक वा समर्थक बसेका, र प्रत्यक्ष रूपमा विपक्षलाई सहयोग पुर्याउने गरी प्रचारप्रसारमा संलग्न भएकाहरूमाथि छानबिन सुरु गरिएको छ।
समितिले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिहरूलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। साथै, निर्वाचनका क्रममा भएका अन्तरघात र अनुशासनहीनताका उजुरीहरू आगामी २०८२ चैत मसान्तभित्र केन्द्रिय अनुशासन समितिमा पठाइसक्न सिंगो पार्टी पंक्तिलाई निर्देशन दिइएको छ। तोकिएको समय सीमाभन्दा पछि प्राप्त हुने उजुरीहरूमाथि कुनै पनि कारबाही प्रक्रिया अघि नबढाइने समितिले स्पष्ट पारेको छ।