arrow

रात्रिकालीन बससेवा सञ्चालन गर्दै कामपा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
Bus-new-delhi.jpeg
तस्बिर फाइल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारीलाई तीव्रता दिएको छ। बेलुका ८:०० बजेपछि सार्वजनिक यातायात नपाउँदा सर्वसाधारणले भोग्नुपरेको सास्ती र महँगो यात्राको समस्या समाधान गर्न महानगरले यो पहल सुरु गरेको हो। 

महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार रातिको समयमा यात्रा गर्ने महिला, किशोरी र विद्यार्थीहरूको सुरक्षा एवं आर्थिक सहजतालाई ध्यानमा राखेर यो सेवा सुरु गर्न लागिएको हो। विशेष गरी सार्वजनिक यातायातको विकल्प नहुँदा रातिको समयमा हुने दुव्र्यवहार र उच्च खर्चलाई यसले केही हदसम्म न्यूनीकरण गर्ने विश्वास लिइएको छ।

सुरुवाती चरणमा दुईवटा मुख्य रुटमा चारवटा विद्युतीय बसहरू सञ्चालन हुनेछन्। पहिलो रुट उत्तर–दक्षिणतर्फ १६ किलोमिटरको हुनेछ, जसले ललितपुरको लगनखेलबाट पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति, टिचिङ र गङ्गालाल हुँदै बुढानीलकण्ठसम्म जोड्नेछ। दोस्रो रुट पूर्व–पश्चिम दिशाको २० किलोमिटरको दूरीमा रहनेछ, जसअन्तर्गत थानकोटबाट सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म बस सञ्चालन हुनेछन्।

यो सेवा साँझ ८:०० बजेदेखि राति ११:०० बजेसम्म उपलब्ध हुनेछ र हरेक २० मिनेटको अन्तरालमा बस स्टपहरूमा बस आइपुग्ने व्यवस्था मिलाइएको छ। सेवालाई अत्याधुनिक, सुरक्षित र भरपर्दो बनाउन बसहरूमा सीसीटीभी क्यामरा जडान गरिनेछ भने सुरक्षाको सुनिश्चितताका लागि नगरप्रहरी समेत परिचालन गरिनेछ। महानगरले यस प्रणालीलाई थप दिगो र एकीकृत बनाउन अन्य साझेदारहरूसँग पनि सहकार्य गर्ने लक्ष्य राखेको छ, जसले गर्दा रात्रिकालीन व्यवसायमा संलग्न र ढिलासम्म काम गर्ने कर्मचारीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ