जरा अभियान' मार्फत कांग्रेसलाई पुनर्जीवित गरिँदै, अब डिजिटल माध्यमबाटै नयाँ सदस्यता
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
938
Shares
काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनको औपचारिक प्रक्रिया अगाडि बढाउँदै देशभर सांगठनिक सुदृढीकरण र सदस्यता अभियान शुरू गरेको छ।
पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि ७७ वटै जिल्लामा प्रतिनिधिहरू खटाएर कांग्रेसले महाधिवेशनको गृहकार्य थालेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रतिनिधि अभिमुखीकरण कार्यक्रमपछि महामन्त्री प्रदीप पौडेलले यसपटकको तयारीलाई ‘जरा अभियान’ नाम दिइएको जानकारी दिनुभयो। यस अभियानअन्तर्गत वैशाख महिनाभरि खटिएका प्रतिनिधिहरूले जिल्लामा बसेर सदस्यता वितरण, अद्यावधिक र सांगठनिक अवस्थाको विस्तृत प्रतिवेदन तयार पार्नेछन्।
महामन्त्री पौडेलका अनुसार यसपटक पार्टीले प्रविधिमैत्री व्यवस्था गर्दै सबै सदस्यहरूलाई ‘कांग्रेस आईडि’ प्रदान गर्ने नीति लिएको छ। पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र आफ्नो सम्बन्धित भूगोल वा वडामै पुगेर अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्नुपर्नेछ; अन्यथा पुरानो सदस्यता कायम रहने छैन। यो परिचयपत्र नहुने व्यक्तिहरूले १५ औँ महाधिवेशनको कुनै पनि प्रक्रियामा भाग लिन पाउने छैनन् भने नयाँ सदस्यहरूका लागि डिजिटल माध्यमबाट सदस्यता लिने व्यवस्था मिलाइएको छ।
‘जरा अभियान’ मार्फत कांग्रेसले मुख्य चारवटा उद्देश्यहरू राखेको छ: महाधिवेशनको तयारी, सांगठनिक सुदृढीकरण, गत निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने। पार्टीले आफ्नो जनाधार खस्किएको कारण खोज्न नागरिक स्तरमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ, जसअन्तर्गत केन्द्रीय सभापतिले राष्ट्रिय स्तरका बुद्धिजीवीहरूसँग र जिल्लाका प्रतिनिधिहरूले स्थानीय स्तरमा समीक्षा कार्यक्रमहरू गर्नेछन्। भ्रातृ संगठनहरूको अवस्था बुझ्न र स्थानीय आवश्यकताअनुसार सामाजिक कार्यमा सक्रिय हुन प्रतिनिधिहरूलाई आवश्यक निर्देशिका र कार्यविधिसहित कार्यक्षेत्रमा पठाइसकिएको छ।