नेपाल प्रहरीको विशेष अभियान: चार दिनमा देशभरबाट दुई सय २६ जना पक्राउ
गुण्डागर्दी र बिचौलियाविरुद्ध कठोर कारबाही
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
775
Shares
काठमाडौँ । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया र अभद्र व्यवहार जस्ता गैरकानुनी कार्यविरुद्ध देशभर सञ्चालन गरेको विशेष खोजी अभियानका क्रममा चार दिनभित्र दुई सय २६ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यही चैत १८ देखि २१ गतेसम्मको अवधिमा देशभरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको हो
। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार चैत १८ गते काठमाडौँ उपत्यकाबाट ५१ र कोशी प्रदेशबाट १८ जना पक्राउ परेका थिए भने १९ गते कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानबाट ४४ जनालाई नियन्त्रणमा लिइएको थियो।
यसैगरी चैत २० गते मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट जम्मा २४ जना र २१ गते काठमाडौँ उपत्यकाबाट मात्रै ६२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा विशेषगरी सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्ने, गुण्डागर्दीमा संलग्न रहने तथा यातायात र मालपोत कार्यालय जस्ता सरकारी निकायमा सेवाग्राहीलाई दुःख र हैरानी दिने बिचौलियाहरू रहेका छन्। प्रहरी प्रवक्ता काफ्लेले समाजमा शान्ति सुरक्षा कायम गर्न र सर्वसाधारणलाई सास्ती दिने तत्वहरूलाई निरुत्साहित गर्न यो शुद्धीकरण अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने स्पष्ट पारेका छन्।