arrow

उपसभामुखको निर्वाचन शुक्रबार, रविले कसलाई दिए भरोसा ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
rabi-prachanda-harka-gyanbahadur.jpg.jpeg

काठमाडौँ । संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पद पाउँदा उपसभामुखको टुंगो शुक्रबार लाग्ने भएको छ । सभामुख डोलप्रसाद अर्यालले शुक्रबार चैत २७ गते उपसभामुखको निर्वाचन हुने जानकारी दिएका हुन् । 

प्रतिनिधि सभामा झण्डै दुई तिहाई सिट हासिल गरेको रास्वपाले निर्विवाद रूपले सभामुखमा रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई ल्याउन सफल भएकामा उपसभामुख भने रास्वपाका सभापति रवि लामिछानेले जुन विपक्षी दललाई चाहन्छन् त्यही दलबाट हुने निश्चित छ । 

संसदमा रास्वपाको १८२ सिट रहेको छ । दोस्रो ठूलो दल नेपाली कांग्रेसको ३८, नेकपा एमालेको २५, नेपाली कम्युनिस्ट पार्टीको १७,  श्रम संस्कृति पार्टीको सात र राष्ट्रिय प्रजातन्त्र पार्टीको पाँच सिट छ । एक सिट स्वतन्त्रबाट महावीर पुनले जितेका छन् । उनले आफू न सत्ता न इतर बरु तटस्थ भनिसकेका छन् । 

संविधानको धारा ९१ मा सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । यो धाराको उपधारा २ मा सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ । 

यही उपधारामै भनिएको छ कि प्रतिनिधि सभामा एक भन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन भन्ने उल्लेख छ । 

यसरी हेर्दा रास्वपाले उपसभामुख पनि आफ्नै दलको हुने भनी साना दललाई भनेको खण्डमा चुप लाग्नुपर्ने अवस्था छ । किनकि रास्वपाको सहमति बिना उनीहरुले जित्ने अवस्था नै छैन ।

रास्वपा सभापति रवि लामिछानेले संविधानको भावना र संसदीय अभ्यासअनुसार उपसभामुख चयन प्रक्रिया अघि बढ्ने बताएसँगै साना विपक्षी दलहरू यतातर्फ लालायित भएका हुन् । 

अहिलेको परिवर्तन हेर्दा कांग्रेस र एमालेले उम्मेदवार खडा गरेर समासा देखाउने अवस्था छैन । जनादेश नै नभएसँगै कांग्रेस र एमालेले त्यो दाबी नदिने बुझ्न सकिन्छ । त्यस्तै रास्वपाले नै कांग्रेस एमालेलाई समर्थन नगर्ने स्पष्टै छ । विपक्षका दुई ठूला दल होडबाट पछि हटेसँगै बाँकी तीन दलबीच रस्साकस्सी देखिन्छ । 

रास्वपाले नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति र राप्रपाले उपसभामुखका लागि पार्टीसँग परामर्श थालेको जनाएको छ । चाहँदासमेत पनि कांग्रेस र एमालेले उपसभामुख नपाउने भएसँगै त्यो पहलसमेत नगरेको बताइन्छ ।

रास्वपा सभापति लामिछानेले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिसकेका छन् । नेकपाले उपसभामुखमा चासो राखेको छ । त्यसो त चासो राख्नेमा राप्रपा र श्रम संस्कृति पनि छन् । 

लामिछानेले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीसँग पनि छलफल गरेका छन् भने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले पनि उपसभामुखमा आफ्नो पार्टीको दाबी रहने उल्लेख गरेका छन् । 

प्रचण्ड बढी नै नजिक भएका कारणले पनि नेकपाले उपसभामुख पाउन सक्ने अड्कल भइरहेको छ । जनादेशअनुसार भने मतदाताले चुनावअघिका तीन ठूला दललाई नै नरुचाएकाले प्रचण्डको नेकपाले त्यो हक गुमाएको दाबीसमेत भइरहेको छ । 

लामिछानेले कांग्रेस र एमाले बाहेकका दलसँग समदूरी बनाएको भए पनि शुक्रबारको निर्णयले झण्डै दुई तिहाईको पकड जमाएको रास्वपाले बाँकी रहेका तीन दलमध्ये कसलाई नजिक र कसलाई टाढाको बनाउँछन् भन्ने छर्लङ्गै हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ