भक्तपुरमा बिस्केट जात्राको रौनक: नयाँ वर्षको स्वागतमा हजारौँको घुइँचो
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
700
Shares
काठमाडौँ । नयाँ वर्ष २०८३ को पहिलो दिन भक्तपुर जिल्ला सांस्कृतिक उत्सवले भरिएको छ। तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न भक्तपुरसहित काठमाडौँ, ललितपुर र काभ्रे लगायतका विभिन्न जिल्लाबाट हजारौँ मानिसको ठूलो उपस्थिति रहेको छ।
भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तको साँझ ठड्याइएको ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो आज दिनभर जात्रालुहरूको आकर्षणको केन्द्र बनेको छ। यो लिङ्गो हेरेमा शत्रु नाश हुने र वर्षभरि सहकाल आउने जनविश्वासका कारण भक्तजनहरू बिहानैदेखि त्यहाँ पुगेका छन्। आज दिनभर भव्य मेला लागेपछि साँझ विधिवत् रूपमा यो लिङ्गो ढालिने परम्परा रहेको छ।
धार्मिक आस्थाका केन्द्रहरूमा पनि उत्तिकै चहलपहल देखिएको छ। दधिकोट र सिरुटारको सङ्गममा रहेको चरखण्डी महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। यहाँको कुण्डमा स्नान गर्दा छालासम्बन्धी रोग निको हुने र पुण्य प्राप्त हुने विश्वासका साथ बिहानैदेखि मानिसहरू कुण्डमा डुबुल्की मारिरहेका छन्।
कतिपय युवाहरूले शरीरमा बत्ती बालेर बसेर आफ्नो भक्ति प्रकट गरिरहेका छन् भने दधिकोट क्षेत्रमा तीनवटा खटसहितको खट जात्रा समेत गरिएको छ। यसैगरी सिरुटार र बालकोट क्षेत्रमा गुप्तेश्वर महादेवको खट जात्रा धिमे बाजाका साथ टोलटोलमा घुमाइएको छ भने चित्रपुरको छुमा गणेश मन्दिरमा पनि भक्तजनले पूजाआजा र बलि चढाएर जात्रा मनाएका छन्।
मध्यपुरथिमिका बासिन्दाले पनि आफ्नै परम्पराअनुसार जात्रा सम्पन्न गरेका छन्। चैत मसान्तको रातभर सञ्चालन भएको चान्हेसिया अर्थात् रात्रिको जात्रा आज बिहान सम्पन्न भएको छ। बालकुमारी मन्दिरमा विभिन्न देवगणका खटहरू ल्याएर र चिराग बालेर मनाइएको यो जात्राले रातभर थिमि क्षेत्र गुञ्जायमान बनेको थियो। यसका साथै थिमिमा प्रसिद्ध विष्णुवीर र सिद्धिकाली जात्रा पनि भव्य रूपमा सम्पन्न भएको छ।
सिन्दूर चढेका खटहरूलाई बाजागाजासहित टोलटोलमा परिक्रमा गराउँदा भक्तपुरको वातावरण पूर्ण रूपमा उत्सवमय बनेको छ। नेवारी परम्परा र तान्त्रिक विधिको समिश्रण रहेको यी जात्राहरूले नयाँ वर्षको सुरुवातमा छुट्टै उत्साह थपेका छन्।