वैशाख १५ देखि रास्वपाको जिल्ला अधिवेशन, विभिन्न विभागमा नयाँ मनोनयन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
1.5k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले आगामी वैशाख १५ गतेदेखि पार्टीको जिल्ला अधिवेशन सुचारु गर्ने महत्वपूर्ण निर्णय गरेको छ। बैठकका निर्णयहरूबारे जानकारी दिँदै पार्टी महामन्त्री एवं प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अधिवेशनका लागि जिल्ला अधिवेशन कार्यविधि समेत स्वीकृत भइसकेको बताए।
रास्वपाले हालसम्म ७७ मध्ये ७६ जिल्लामा जिल्ला समिति गठन गरिसकेको छ भने डोल्पामा गठनको प्रक्रिया जारी रहेको छ। हालसम्म ४ सय ६० पालिका र करिब २५ सय वडाहरूमा समिति गठन भइसकेको रेकर्ड पार्टीले प्राप्त गरेको छ।
बैठकले विभिन्न विभागहरूमा नयाँ सदस्यहरू समेत मनोनित गरेको छ, जसमा केन्द्रीय नीति विचार विभागमा महेश्वर घिमिरे र सांसद सुशान्त वैद्य रहेका छन्। त्यस्तै केन्द्रीय प्रशिक्षण विभागमा ६ जना र संगठन विभागमा ३ जना नयाँ सदस्य थपिएका छन् भने प्रवास नेपाली सम्पर्क विभाग प्रमुखमा सचिवालय सदस्य दीपकराज बोहोरालाई नियुक्त गरिएको छ।
प्रशासनिक सुधारका क्रममा बैंक खाता सञ्चालनमा उपसभापतिको सट्टा महामन्त्रीको हस्ताक्षर रहने गरी आन्तरिक कार्यविधिमा परिवर्तन गरिएको छ भने महाधिवेशनको तयारीका लागि महामन्त्री बुर्लाकोटीकै संयोजकत्वमा मस्यौदा समिति गठन गरिएको छ।
पार्टीले प्रत्यक्षतर्फ जित हासिल गर्न नसकेका ४० वटा निर्वाचन क्षेत्रमा नागरिकका समस्या सुन्न समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोक्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ, जसले १६५ वटै क्षेत्रमा रास्वपाको प्रतिनिधित्व सुनिश्चित गर्नेछ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महँगीका सम्बन्धमा सरकार र पार्टी दुवै गम्भीर रहेको उल्लेख गर्दै बुर्लाकोटीले भण्डारण क्षमताको कमी र अन्तर्राष्ट्रिय बजारको प्रभावलाई मुख्य कारण बताए। सीमा क्षेत्रमा घरायसी सामान ल्याउँदा देखिएको समस्या समाधानका लागि उच्च तहमा छलफल भइरहेको जानकारी दिँदै रास्वपाले केन्द्रीय समितिको आगामी बैठक वैशाख ७ गतेका लागि तय गरेको छ।