नौ बुँदे एजेन्डामाथि केन्द्रीय समितिमा छलफल गर्दै रास्वपा, विवादित मन्त्रीको विषय छोड्नै नमिल्ने
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
1.4k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज दिउँसो ३ बजे बस्दैछ। काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी यो बैठक बोलाइएको हो।
बैठकका लागि रास्वपाले ९ बुँदे कार्यसूची (एजेन्डा) तय गरेको छ। बैठकमा मुख्य गरी पार्टीका हालसम्मका गतिविधिहरूको ब्रिफिङ हुनेछ भने केन्द्रीय सदस्यहरूले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ। यसका साथै केन्द्रीय समितिका रिक्त पदाधिकारीहरूको मनोनयनका विषयमा पनि बैठकमा गहन छलफल हुने पार्टीले जनाएको छ।
यसअघि सचिवालय बैठकले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरिसकेकाले आजको बैठकमा महाधिवेशनको तयारी र साङ्गठनिक सुदृढीकरणका विषयले पनि प्राथमिकता पाउने देखिएको छ।
यद्यपि विवादित गृहमन्त्री सुधन गुरुङका बारेमा पनि छलफल गरी निचोडमा पुग्ने अपेक्षा रास्वपा नेताहरूको छ । स्टन्ट गर्न मन पराउने गुरुङले सीमामा भारतबाट सय रुपैंयाँ भन्दा बढीको घरायसी सामान किन्नेलाई चर्को भन्सार लगाउन मौखिक ठाडो आदेश दिएसँगै उनी थप आलोचित भएका छन् ।
त्यस्तै विवादित व्यवसायी दीपक भट्टसँग जोडिएसँगै उनलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न मागसमेत भइरहेको छ ।
विवादित मन्त्रीको विषय छोड्नै नमिल्ने भन्दै एक केन्द्रीय सदस्यले भने, 'सभापतिज्यूले यसअघि नै भन्नुभएको छ । पटक पटक भनिरहन परेन । हामी जनताले जिताएर आएका हौँ । जनताको म्यान्डेट नाघेर जाँदैनौँ । विवादमा मुछिएको जोकोहीले ठाउँ छाडिदिनु पर्छ । हामीले त हाम्रा मतदातालाई जवाफ दिनुछ ।'