काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सत्तामा रहँदा भएका कमजोरी र विकृतिका कारण नै जनताले निर्वाचनमार्फत पार्टीलाई सजाय दिएको स्वीकार गरेका छन्। बुधबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालको राजनीतिक अवस्थालाई गम्भीर आत्मसमीक्षा र सुधारको अवसरका रूपमा लिनुपर्ने बताए।
दाहालले सत्ता र कुर्सीमा बस्दा पार्टीभित्र धेरै 'फोहोरमैला' जम्मा भएको स्वीकार गर्दै जनताले दिएको यो धक्कालाई नकारात्मक रूपमा मात्र हेर्न नहुने उल्लेख गरे। "अहिले जनताले हामीलाई घृणा गरेका होइनन्, बरु तिमीहरूभित्र धेरै फोहोर जम्मा भएछ, नुहाइधुवाइ गरेर आऊ भनेर सबक सिकाएका हुन्," उनले भने।
कम्युनिष्ट आन्दोलनले बेलाबेलामा यस्ता धक्काहरू व्यहोर्नुपर्ने र ती घटनाहरूले आन्तरिक शुद्धीकरणका लागि मद्दत पुर्याउने उनको भनाइ थियो। दाहालले कम्युनिष्टहरूमा आफ्ना गल्तीहरू स्वीकार गर्ने र तिनलाई सुधारेर अघि बढ्न सक्ने क्षमता रहेको दाबी गर्दै यी अनुभवबाट पाठ सिकेर अगाडि बढेमा कम्युनिष्ट आन्दोलन अझ सुदृढ र शक्तिशाली हुने विश्वास व्यक्त गरे।
अहिलेको समयलाई उनले पार्टीभित्रको विकृति पखाल्ने र जनताको विश्वास पुनः प्राप्त गर्ने एउटा महत्वपूर्ण मोडका रूपमा व्याख्या गरे।