arrow

बस्ती उजाडिने भएपछि बालेन सरकारविरुद्ध खनिए सुकुमवासी [भिडियो]

डोजर आतंक बन्द गर्न माग, रवि लामिछानेलाई सम्झाइयो आश्वासन 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
sukumbasi-narabaji.jpg

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमवासी बस्ती खाली गराउने बालेन सरकारको निर्णयविरुद्ध शुक्रबार स्थानीय बासिन्दाले चर्का नाराबाजीसहित प्रदर्शन गरेका छन्। आफ्नो आवासको हक खोस्न नपाइने भन्दै उनीहरूले 'डोजर आतङ्क' बन्द गर्न र न्याय दिन माग गरेका हुन्।

प्रदर्शनका क्रममा आन्दोलनकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निर्वाचनका बेला दिएको आश्वासन स्मरण गराएका छन्। निर्वाचनअघि लामिछानेले "बस्तीमा डोजर चलाए आफू नै छाती थाप्न जाने" बताएका थिए। प्रदर्शनकारीहरूले सोही वाचा पूरा गर्न र आफ्नो बस्तीमा आएर साथ दिन लामिछानेलाई आग्रह गरेका छन्।

महानगरको यो अभियानमा यसपटक राजनीतिक समीकरण फेरिएको छ। तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले सुरु गरेको सुकुमवासी बस्ती खाली गराउने अभियानलाई काठमाडौँ महानगरकी कार्यवाहक मेयर सुनिता डङ्गोलले पूर्णता दिने तयारी गरेकी छिन्। स्वतन्त्रबाट मेयर जितेका बालेन अहिले मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को भूमिकामा छन् भने एमालेबाट निर्वाचित सुनिताले उनलाई साथ दिएकी छिन्।

थापाथलीस्थित सुकुमवासी बस्तीमा शनिबार बिहान ६ बजेदेखि डोजर चलाउने तयारी महानगरले गरेको छ। महानगर प्रहरीले बिहीबार साँझ नै बस्तीमा पुगेर सो समयभित्र ठाउँ खाली गर्न माइकिङ गरिसकेको छ।

प्रदर्शनका क्रममा "सुकुमवासी आवासको हक सुनिश्चित गर", "यस्तो सरकार चाहिँदैन" जस्ता प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले बालेन सरकारलाई 'अमानवीय' को संज्ञा दिएका छन्। यस आन्दोलनमा 'जेन-जी' अभियन्ताहरूको पनि सहभागिता रहेको छ, जसले यस मुद्दालाई मानव अधिकारको दृष्टिकोणबाट उठाइरहेका छन्। भोलि बिहान डोजर चल्ने भएपछि थापाथली क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र स्थिति निकै तनावपूर्ण बनेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ