प्रहरीले वास्तविक सुकुमवासीलाई गर्यो सहयोगका लागि आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
514
Shares
तस्बिर : फाइल
काठमाडौँ । सरकारले शुरू गर्न लागेको सुकुमवासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल प्रहरीले नदी किनार तथा सार्वजनिकस्थलमा बसोबास गरिरहेका नागरिकलाई आग्रह गरेको छ ।
सुकुमवासी/भूमिहीनको उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चितताका लागि सुकुमवासी व्यवस्थापन अभियान सञ्चालन गर्न लागिएको प्रहरीले जनाएको छ ।
वास्तविक सुकुमवासी/भूमिहीन पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्ने उद्देश्यका साथ उक्त अभियान शुरू हुन लागेको नेपाल प्रहरीका प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिए ।
सो सम्बन्धी समस्या समाधान नहुँदा वास्तविक सुकुमवासी/भूमिहीन राज्यबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित हुनुपरेको जनाउँदै प्रहरीले आफ्नो हक, अधिकार मिच्ने नक्कली सुकुमवासी/भूमिहीन व्यक्तिहरूको पहिचान गरेर सहयोग गर्न आग्रह गरेको छ ।
“वास्तविक सुकुमवासी/भूमिहीनहरू एकजुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमा सही सूचना दिई सहयोग गरिदिनुहुन हामी विनम्र अनुरोध गर्दछौँ”, प्रहरी प्रधान कार्यालयद्वारा आज जारी अपीलमा उल्लेख छ ।