भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेतामा निर्विरोध निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
1.4k
Shares
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित भएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले आङ्देम्बेलाई दलको नेता चयन गरेको हो।
कांग्रेसका सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले निर्वाचनको औपचारिक परिणामबारे जानकारी दिएका हुन्।
यसअघि सोमबार नै पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेको नाममा सर्वसम्मत निर्णय गरेको थियो।
पार्टी सभापति गगनकुमार थापाले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई दलको नेता बनाउने प्रस्ताव राखेका थिए जसलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो।
संसदीय दलको नेताका लागि तीन जना नेताले दाबी गरेपछि सहमति जुटाउन उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा दुवै महामन्त्री सदस्य रहेको एक समिति गठन गरिएको थियो।
उक्त समितिको सहजीकरण र आन्तरिक छलफलपछि आङ्देम्बेको नाममा सहमति जुटेको हो। नेपाली कांग्रेसले विसं २०६४ पछि पहिलोपटक संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरेको हो । जसलाई पार्टीभित्रको एकताको सकारात्मक सन्देशका रूपमा हेरिएको छ।