नेप्सेमा ७.७३ अङ्कको सुधार: परिसूचक २७९६ को बिन्दुमा
चार अर्ब ७४ करोडको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
270
Shares
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक सात दशमलव ७३ अङ्कले बढेर दुई हजार ७९६ दशमलव ४३ को बिन्दुमा कायम भएको छ। आज ३५१ कम्पनीका कुल एक करोड नौ लाख २८ हजार ६१७ कित्ता सेयर ८१ हजार ६ पटक खरिदबिक्री हुँदा चार अर्ब ७४ करोड ८८ लाख नौ हजार १२७ रुपैयाँ बराबरको कारोबार भएको छ।
बजारमा आज मिश्रित प्रवृति देखिएको छ जहाँ जलविद्युत्, लगानी, म्युचुअल फन्ड, व्यापार र अन्य समूहका उपसूचकहरू घटेका छन् भने बाँकी सबै समूहको उपसूचकमा वृद्धि भएको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा समूहको सूचक बढेको छ। विशेष गरी उत्पादन तथा प्रशोधन समूहमा एक दशमलव ५२ प्रतिशत र विकास बैंक समूहमा एक दशमलव १४ प्रतिशतको सुधार देखिएको छ।
आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, पाल्पा सिमेन्ट इन्ड्रस्टिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अर्कोतर्फ, सबैभन्दा धेरै घट्नेमा निफ्रा ग्रिन इनर्जी डिबेन्चर रहेको छ, जसको मूल्य १४ दशमलव ०१ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह सबैभन्दा धेरै एक दशमलव ३९ प्रतिशतले घटेर बन्द भएको छ।