arrow

कांग्रेस अनुशासन समितिले गर्‍यो रामेछाप सभापति कान्छारामलाई निलम्बन

अनुशासन उल्लंघनका उजुरीमा स्पष्टीकरण माग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
congress-anusasan-samiti.jpg
तस्बिर फाइल : कांग्रेस केन्द्रीय अनुशासन समिति

काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको छ। समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले अनुशासन उल्लङ्घनसम्बन्धी विभिन्न विषयमा यस्तो निर्णय लिएको हो।

तामाङमाथि पार्टी नेतृत्वविरुद्ध बदनियतपूर्वक भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा यसअघि स्पष्टीकरण सोधिएको थियो। उनले पेश गरेको जवाफ प्रारम्भिक रूपमा सन्तोषजनक र चित्तबुझ्दो नदेखिएको समितिको निष्कर्ष छ। यस विषयमा थप अनुसन्धान आवश्यक रहेको र उनी पदमै रहँदा अनुसन्धान प्रभावित हुन सक्ने ठहर गर्दै अन्तिम निर्णय नहुन्जेलसम्मका लागि उनलाई आजैदेखि निलम्बन गरिएको हो।

त्यस्तै, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणबारे सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसलापछि उक्त प्रक्रियाको औचित्य समाप्त भएको भन्दै त्यसलाई तामेलीमा राख्ने निर्णय बैठकले गरेको छ।

बैठकले २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा अनुशासन उल्लङ्घन भएको भन्दै प्राप्त उजुरीहरूको वर्गीकरण समेत सम्पन्न गरेको छ। उक्त प्रकरणमा आरोपित व्यक्तिहरूसँग सात दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरिएको छ। स्पष्टीकरणका लागि इमेल, हुलाक तथा कुरियरमार्फत पत्राचार गरिने समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ