आन्तरिक झगडा मिले पाँच वर्षपछि कांग्रेस सत्तामा फर्किने नेता दाहालको दाबी [भिडियो]
अग्रजहरूलाई ‘घोक्रेठ्याक’ लगाउने परिपार्टी गलत
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
421
Shares
काठमाडौँ। नेपाली कांग्रेसका नेता लीलाबल्लभ दाहाल (काका)ले अग्रज नेताहरुलाई सम्मानपूर्वक व्यवहार गर्दै पार्टी एकताका लागि सबै एक हुनुपर्नेमा जोड दिएका छन् । उनले अग्रजहरूलाई ‘घोक्रेठ्याक’ लगाउने परिपार्टी गलत भएको बताए ।
पार्टीभित्र विगतमा पनि गुट वा टीमको भेला वा बैठकहरू हुने गरेको उदाहरण दिंदै हाल भइरहेको भेलाहरू अस्वभाविक नभएको उनले जिकिर गरे । कांग्रेसको आन्तरिक झगडाका कारण जनमत समेत घटेको उनको बुझाइ छ ।
‘फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पनि टिकट वितरणमा विवेक पुगेन । कम्तीमा ३५ ओटा टिकट अग्रज भनिएका र गुटमा विभाजित बनेका अग्रज नेताहरूको परामर्शमै वितरण हुनुपर्ने थियो। आन्तरिक झगडा नमिलाई चुनावमा जाँदा कांग्रेस आज कमजोर अवस्थामा पुग्यो । गगन-विश्व(गगन थापा र विश्वप्रकाश शर्मा) दाइहरूले यस्ता कुरामा ध्यान दिए राम्रो हुन्छ,’ दाहालले भने, ‘कांग्रेस अहिलेपनि ठूलो झगडापछि सानो झगडातिर उन्मुख भएको छ ।’
तर अब विस्तारै टीम वा गुटका भेलाहरू मत्थर हुँदै जाने आशा पनि उनले व्यक्त गरे ।
ओखलढुंगाबाट महाधिवेशन प्रतिनिधिसमेत भइसकेका दाहालले फागुन २१ गतेको निर्वाचनको माहोल देखेर सभापति गगन थापा झुक्किएको र जनताको मनोविज्ञान अध्ययनमा कमजोरी भएको बताए।
पार्टीभित्र सभापति थापाको ठूलो हिस्सा वा माहोल आफ्नो पक्षमा रहेको भए पनि निर्णायक शक्ति बाहिरै रहेकाले सो शक्तिलाई समावेश गरेर एकताबद्ध पार्टी बनाउन लाग्नुपर्ने नेता दाहालको सुझाव छ ।
‘अहिले उहाँको हातमा पार्टी छ । तर पार्टी कार्यकर्ता आज पनि गगन-विश्वका अलगअलग छन् । त्यसैले कसैले पार्टी आफ्नो पोल्टामा छ भनेर बस्नु गलत हो,’ दाहालले भने ।
विशेष महाधिवेशनमा जानुपूर्व धेरै कुराहरू विमर्श गर्न नसक्दा पनि आज पार्टी कमजोर अवस्था पुगेको दाहालको ठम्याइ छ ।
‘मेरो भनाइ के थियो भने प्रतिनिधिसभा निर्वाचन धकेलेर भए पनि नियमित महाधिवेशनमै जानुपर्दथ्यो। गगन दाई विभिन्न लोभ र खेलमा अल्झिनुभयो । नियमित महाधिवेशनमा गएको भए उहाँको पोल्टामा पार्टीको ९० प्रतिशत हिस्सा हुनेथियो । पार्टीभित्र आन्तरिक बेमेल भएकै कारण निर्वाचनमा धेरै सिट गुमाउनु परेको छ,’ उनले भने ।
झगडा वा किचलो भएको घरमा बैंकले ऋण नदिएजस्तै विभाजित बनेको कांग्रेसलाई जनताले मत नदिएको उनको तर्क छ ।
‘झगडा भएको घरमा बैंकले ऋण दिंदैन र छोरी पनि विवाह गरेर दिंदैनन् । तत्कालीन परिस्थितिको गहिराई बुझ्न नसक्दा पार्टीलाई ठूलो क्षति भएको छ,’ युवा उद्यमीसमेत रहेका दाहालको भनाइ छ ।
पछिल्लो समय कांग्रेसभित्रको मुख्य झगडा न्यायलयले रोकिदिएको भए पनि भावनात्मक झगडा बाँकी रहेकाले एकताका लागि सभापतिले मुख्य भूमिका निर्वाह गरेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।
‘आज राजनीतिक रुपमा, भावनात्मक रुपमा विभाजित भएकाहरुलाई सभापतिज्यूले समेट्नुपर्छ, साना तर महत्वूर्ण मुद्दामा खरो उत्रिनुपर्छ । विस्तारै जनता कांग्रेसको पक्षमा आउँछन्,’ उनी आशावादी भए ।
निवर्तमान सभापति शेरबहादुर देउवा चाँडो नेपाल आएर पार्टीको आन्तरिक विवादलाई आँफैले फेस गरेर एकताका पक्षमा काम गर्न उनले सुझाव समेत दिए ।
‘देउवा दाइ आँफैमा कलंकित पात्र होइन् । सम्मानित व्यक्ति हुनुहुन्छ । विस्तारै सबैले बुझ्दै जानेछन्। देशमा व्यवस्था जोगाउन र हालको अवस्थासम्म ल्याउन उहाँहरूको ठूलो भूमिका छ । चाँडै नेपाल आएर हालको समस्यालाई समाधान गर्न उहाँले अग्रसरता लिनुपर्छ,’ दाहालले भने ।
आफूहरूले नेतालाई भेट्न लाइनमा बसेर र कालो चियाका भरमा वर्षौँ संघर्ष गरेर बनाएको पार्टीको आजको संगठन बनाउन खेलेको भूमिकालाई सम्मान गर्नपनि उनले आग्रह गरे ।
‘तर हालका नेताहरू गगन-विश्वलाई सहजै कार्यकर्ताले भेट्न पाउँदैनन् । उहाँहरूसँग पुग्न सबैको पहुँच हुँदैन् । टिकट पाएकाहरु खुशी भए होलान् तर नपाएकाहरू आज पनि दुःखी छन् । तर म चाहीँ टिकट नपाउँदा पनि पार्टीकै लागि सक्रिय भएँ । त्यसैले सबैलाई समेट्न नेतृत्वसम्म पुग्न सहज बनाइनुपर्छ। नयाँ र पूराना पुस्ताका नेताहरूलाई कम्बाइन गर्नैपर्छ,’ उनले भने ।
पाँच वर्षपछि कांग्रेस सत्ता फर्किने दाबी गरेका नेता दाहालले छुटेका, वेवास्ता गरिएका र लामो समय पार्टीको विभिन्न भूमिकामा रहेका नेताहरुलाई स-सम्मान अवसर प्रदान गर्न सुझावसमेत दिए ।
हाल अदालतले एउटा निकाश दिइसकेकाले नेतृत्वले सबै पक्षलाई उत्तिकै महत्व र सम्मान दिनुपर्ने धारणा राखे ।
‘अदालतले एउटा बाटो देखाइसकेको छ। त्यसैले हामी अब गुटभन्दा माथि उठ्न जरुरी छ । देश जोगाउन पनि कांग्रेसहरू एकढिक्का हुनुपर्छ,’ उनले भने ।