सुकुमवासीको अस्थायी व्यवस्थापनका लागि पाँच केन्द्र तय
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
346
Shares
काठमाडौँ । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तीब्ररुपमा भइरहेको छ ।
सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने तयारीस्वरूप यो प्रक्रिया अघि बढाइएको हो ।
बल्खु, वंशीघाट, बालाजु र शंखमुल क्षेत्रबाट शुक्रबार हटाइएका परिवारलाई पाँच फरक स्थानमा राख्ने योजना बनाइएको छ ।
तत्कालका लागि धापाखेलस्थित टेवा कार्यालय, खरिपाटीको विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैँक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र बनेपास्थित रेडक्रस भवनमा अस्थायी व्यवस्थापन गरिने जनाइएको छ ।
हालसम्म ७२ जना सुकुमवासीले स्वेच्छिक रूपमा रंगशालामा पुगेर आफ्नो विवरण दर्ता गराएका छन् ।
विवरण संकलन कार्यमा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली खटिएको छ ।
यस कदमलाई व्यवस्थापनमुखी प्रयासका रूपमा हेरिए पनि दीर्घकालीन पुनर्वासको स्पष्ट खाका भने अझै सार्वजनिक भएको छैन, जसले सुकुमवासीको भविष्यबारे थप चासो र बहस उत्पन्न गरेको छ ।