नदी किनारका अतिक्रमित बस्ती हटाउने कार्य जारी: बालाजु र विष्णुमति क्षेत्रमा चल्यो डोजर
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
324
Shares
काठमाडौँ । काठमाडौँ उपत्यकाका बागमती र यसका सहायक नदी किनारमा अवैधरूपमा निर्माण गरिएका अतिक्रमित बस्ती हटाउने अभियान शनिबार पनि निरन्तर चलिरहेको छ। सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयुक्त सक्रियतामा आज काठमाडौँ महानगरपालिका वडा नं १६ स्थित बालाजु क्षेत्रको विष्णुमति नदी र धोबीखोला किनारमा रहेका घरटहरा हटाउने काम भइरहेको छ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार स्वयम्भू, बालाजु–गोंगबु बसपार्क र देवीनगर लगायतका क्षेत्रमा अवैध संरचना हटाउने कार्यलाई तीव्रता दिइएको छ। यसअघि शुक्रबार मात्रै सरकारले बल्खु र कालिमाटी क्षेत्रमा रहेका जोखिमयुक्त बस्तीहरू हटाएको थियो।
हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमण गरी अवैधरूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन्। बस्ती हटाउने क्रममा प्रभावित भएका परिवारहरूलाई तत्कालका लागि ‘होल्डिङ सेन्टर’ मा पठाउने व्यवस्था मिलाइएको छ।
यसैबीच सहरी विकास मन्त्रालयका अधिकारीहरूले वास्तविक भूमिहीन परिवारको पहिचानका लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लगत सङ्कलन कार्य अघि बढाएका छन्। नदी किनारलाई अतिक्रमणमुक्त बनाउने यस अभियानले सहरी सुन्दरता र वातावरणीय सुधारमा सहयोग पुग्ने सरकारको विश्वास छ।