राष्ट्रिय सभा र जिल्ला समन्वय समितिलाई जगेडा समूह जस्तो बनाइयोः महामन्त्री घिमिरे [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
469
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेससहित राजनीतिक दलहरूले राष्ट्रिय सभा र जिल्ला समन्वय समितिलाई ‘जगेडा समूह’ जस्तो बनाएको आरोप लगाएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अवसर नपाएका वा चुनावमा पराजित भएका व्यक्तिहरूलाई व्यवस्थापन गर्ने थलोका रूपमा यी संस्थाहरू प्रयोग गरिएको दाबी गरे।
यसले संस्थागत गरिमा, प्रतिष्ठा र प्रभावकारिता कमजोर बनाएको उनको भनाइ छ।
घिमिरेका अनुसार राष्ट्रिय सभामा अपवाद बाहेक योग्य र प्रभावकारी प्रतिनिधि पठाउने अभ्यास कमजोर छ।
लामो समयदेखि राजनीतिक अवसर नपाएका वा चुनावमा पराजित व्यक्तिहरूलाई पठाउने प्रवृत्तिले यस संस्थाको भूमिकालाई अवमूल्यन गरेको उनले बताए।
जिल्ला समन्वय समितिलाई पनि ‘जगेडा व्यवस्थापन केन्द्र’ जस्तो बनाइएको उनको आरोप छ।
स्थानीय तह वा प्रदेश तहमा प्रमुख पद नपाएका व्यक्तिहरूलाई त्यहाँ पठाउने चलन बढेको उल्लेख गर्दै उनले यसले संस्थाको मूल उद्देश्य कमजोर बनाएको बताए।
उनले जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाउनुपर्ने आवश्यकता औँल्याए।
संवैधानिक रूपमा जिम्मेवारी दिइए पनि पर्याप्त अधिकार र स्रोत नहुँदा यी संस्थाहरू प्रभावकारी हुन नसकेको उनको भनाइ छ।
घिमिरेले संविधान संशोधनमार्फत यी निकायलाई आवश्यक अधिकार र स्रोतसाधन प्रदान गर्नुपर्नेमा जोड दिए। अन्यथा यस्ता संस्थाहरूको औचित्य नै समाप्त हुने चेतावनी पनि उनले दिए।
उनले सरकारका संरचनाहरूलाई बलियो र प्रभावकारी बनाउन सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्ने आवश्यकता रहेको बताए। संस्थागत सुधारबिना लोकतान्त्रिक प्रणाली प्रभावकारी नहुने उनको निष्कर्ष छ।