प्रधानमन्त्री साहले भेट नदिएको भन्दै दलित समुदायको आक्रोश [भिडियो]
न्याय माग्दै माइतीघरमा दलित समुदायको प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
380
Shares
काठमाडौँ । सिन्धुलीको खुर्कोट प्रहरी कार्यालयमा श्रीकृष्ण विश्वकर्माको शङ्कास्पद मृत्यु भएको घटनालाई लिएर आइतबार काठमाडौँको माइतीघर मण्डलामा दलित समुदायले विरोध प्रदर्शन गरेका छन्। पीडित परिवारले न्यायको माग गर्दै प्रधानमन्त्री वालेन्द्र साह (बालेन)लाई भेट्न खोज्दा समय नदिइएको भन्दै प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको कडा आलोचना गरेका छन्।
संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका संयोजक दलजीत सिर्पालीका अनुसार श्रीकृष्ण विश्वकर्माको प्रहरी चौकीभित्रै हत्या भएको र यसलाई लुकाउन खोजिएको आरोप लगाइएको छ। प्रहरी कार्यालय जस्तो सुरक्षित स्थानमा भएको मृत्युको निष्पक्ष छानबिनका लागि सरकारलाई दबाब दिन काठमाडौँमा आन्दोलन सुरु गरिएको उनले बताए।
सङ्घर्ष समितिका संयोजक श्रीपालीले घटनाबारे आफ्नो धारणा राख्दै भने, "हामी श्रीकृष्ण विश्वकर्माले न्याय पाउनुपर्छ भनेर निरन्तर सङ्घर्षमा छौँ। सरकारले गठन गरेको छानबिन समिति दोषीकै अधीनमा रहेको हाम्रो आशङ्का छ। खुर्कोट प्रहरी चौकीबाटै छानबिन सुरु गरिनुपर्छ जहाँ उनलाई मारिएको छ।" उनले पीडित परिवारका सदस्यले अहिलेसम्म मुद्दा दर्ता गर्न नपाएको र प्रधानमन्त्रीले भेट्न समेत नदिएकोमा आपत्ति जनाए।
प्रधानमन्त्री साहले हाल गृह र रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेको अवस्थामा आफ्नै मातहतको निकायमा भएको यस्तो गम्भीर घटनाप्रति संवेदनशीलता नदेखाएको प्रदर्शनकारीहरूको तर्क छ। विरोध प्रदर्शनका क्रममा दलित समुदायमाथि हुने सबै प्रकारका हत्या, हिंसा र विभेद अन्त्य गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गरिएको थियो।
केही समयअघि सिन्धुलीको खुर्कोट प्रहरी चौकीको हिरासतमा श्रीकृष्ण विश्वकर्मा मृत अवस्थामा फेला परेका थिए। प्रहरीले यसलाई आत्महत्या भने पनि परिवार र अधिकारकर्मीहरूले भने अन्तरजातीय विवाहका कारण केटी पक्षको प्रभावमा परेर प्रहरीले नै हत्या गरेको दाबी गर्दै आएका छन्। उक्त घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै दलित सङ्घसंस्थाहरूले आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिएका छन्।