काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। यस बैठकमा वर्तमान समसामयिक राजनीतिका विविध विषयहरूमा केन्द्रित रहेर छलफल गरिने बताइएको छ।
विशेषगरी सरकारले सुकुम्बासीहरूको उचित व्यवस्थापन नगरी डोजर आतङ्क मच्चाएको भन्दै कांग्रेसले विरोध जनाउँदै आएको छ र यस विषयलाई सदनमा सशक्त ढङ्गले उठाउने तयारी गरेको छ।
आगामी वैशाख २८ गतेका लागि संसद् अधिवेशन आह्वान भइसकेको सन्दर्भमा संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे पनि बैठकमा गम्भीर छलफल हुनेछ।
संसद् अधिवेशन बोलाइसकेपछि पुनः त्यसलाई स्थगित गरी अध्यादेश ल्याउने सरकारको कदमलाई कांग्रेसले अनुचित ठानेको छ र यसबारे पनि बैठकमा आधिकारिक धारणा तय गरिने जनाइएको छ।