arrow

भोलाको ‘नेपालमा पुस्तकालय’ लोकार्पण

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
book-nepalma-pustakalaya-2083.jpg

काठमाडौँ । नेपालमा पुस्तकालयका भीष्मपितामहका रूपमा परिचित पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रका अभियन्ता भोलाकुमार श्रेष्ठको पुस्तक ‘नेपालमा पुस्तकालय’ लोकार्पण भएको छ ।
 
वी रिडको प्रकाशनमा प्रकाशित पुस्तकलाई केशरमहलस्थित केशर पुस्तकालयमा आयोजित कार्यक्रममा लेखक श्रेष्ठसहित डा तुलसीप्रसाद भट्टराई, प्राडा.ध्रुव घिमिरे, पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका डा.लीला न्याइच्याई, कलाकार केके कर्माचार्य, वी रिडका कार्यकारी अधिकृत सुनिती अमात्य लगायतले पुस्तकको लोकार्पण गरेका हुन् । 

लेखक श्रेष्ठको यो दोस्रो पुस्तक हो । यस अघि उनको ‘पुस्तकालयस“गको जीवनयात्रा’ पुस्तक प्रकाशित भएको थियो । 

सिङ्गो जीवन पुस्तकालय सेवामा समर्पित गरेका श्रेष्ठले आफ्नो कृति ‘नेपालमा पुस्तकालय’मा नेपालमा पुस्तकका इतिहासका पाटालाई उजागर गरेका छन् । 

आठ ओटा अध्यायमा विभाजन गरिएको पुस्तकमा प्राचीन समयदेखि हालसम्मको पुस्तकालय स्थापना र विकासका लागि योगदान पुर्याएका संस्था एवं व्यक्तित्वको बारेमा समेट्ने जमर्को गरिएको छ ।
 
पुस्तकमा नेपालको विभिन्न शासनकालमा अभ्यासमा रहेको पुस्तकालयको विवरण, व्यवस्थापन, नियम कानुनको बारेमा समेत पुस्तकमा उल्लेख गरिएका छन् । 

पुस्तकले पूर्वीय पाश्चात्य इतिहासलाई खोतल्ने जमर्को गरे पनि पूर्वीय इतिहासलाई बढी जोड दिइएको छ । पूर्वीय पुस्तकालयको इतिहासको जगका रुपमा रहेका तक्षशिला विश्वविद्यालय, नालन्दा विश्वविद्यालय, गुरुकुल जस्ता शैक्षिक संस्थाहरुको उजागर गर्ने काम पुस्तकले गरेको छ । 

पुस्तक अध्ययनपछि पाठकले नेपालमा विभिन्न कालखण्डमा स्थापना भएका पुस्तकालय इतिहासको विस्तृत जानकारी प्राप्त गर्न सक्ने लेखक श्रेष्ठको विश्वास छ ।  

पाठकले पुस्तकबाट नेपालमा त्रिचन्द्र पुस्तकालय सिरहा, धवल पुस्तकालय पाल्पा, श्रीराम पुस्तकालय तौलिहवालगायत १० वटा सामुदायिक पुस्तकालयहरूका बारेमा जानकारीमूलक विवरणसमेत पाउनेछन् । 

साथै पुस्तकमा १४ वटा स्थानीय पुस्तकालयहरुको नाम र स्थापना कालको समेत उल्लेख गरिएका छन् । साथमा त्रिभुवन केन्द्रीय पुस्तकालयको इतिहासलाई समेत संक्षेपमा समेट्ने प्रयास गरिएको छ । 

लोकार्पित पुस्तकमाथि आफ्नो धारणा राख्दै डा.भट्टराईले नेपाली जगतमा यो सामान्य पुस्तक नरहेको बताए । 

उनका अनुसार पुस्तकालय विज्ञान पढ्नेहरुका लागि पाठ्यपुस्तककै ग्रन्थका रूपमा रहनुपर्छ । नेपालको पुस्तकालयको इतिहास बाह्य दुनियाँले पनि पढ्नुपर्ने महत्व दर्शाउ“दै उनले अंग्रेजीमा समेत पुस्तक प्रकाशन पहल गर्नु प्रकाशकलाई आग्रह गरे । 

‘जेन अल्फाले समेत पुस्तकालयको इतिहास पढ्नुपर्छ’, उनले भने, ‘स–सानो कथानक, नाटकीय शैलीमा जेन अल्फाको भाषामा यसलाई प्रकाशन गर्न सकिन्छ । यो पुस्तक सानाले पनि पढ्नुपर्छ ।’ 

महत्वपूर्ण पुस्तक प्रकाशन भएको बताउ“दै उनले आगामी दिनमा नेपालमा पुस्तकालय कसरी अगाडि बढाउन सकिन्छ त भन्ने विषयमा समेत अर्को पुस्तक ल्याउन लेखक श्रेष्ठलाई प्रोत्साहन गरे ।  

डा.न्याइच्याईले पुस्तकका लागि तनमन दिने व्यक्तत्वका रुपमा लेखक श्रेष्ठको लेखकीय पक्षको प्रशंसा गर्दै पुस्तकमा उल्लेख भएका सामग्रीहरु इतिहासका रूपमा रहेको सुनाइन् । 

उनले पुस्तक दस्तावेजका रुपमा अभूतपूर्ण काम रहेको उल्लेख गरिन् । ‘पुस्तक लेखनको महत्वपूर्ण कामले पुरानो कुराको उजागर गरिदिएको छ’, उनले भनिन्, ‘यो काठमाडौँमा केन्द्रित मात्र छैन । महत्वपूर्ण पात्रहरु जिल्ला जिल्लाका लाइब्रेरीहरु छन् । यो नै पुस्तकको महत्वपूर्ण कार्य हो ।’ 

इतिहास दुई किसिमले लेखिने चर्चा गर्दै उनले जे छ त्यही लेखेर र भएका पक्षलाई विश्लेषणात्मक रुपमा पनि इतिहास लेखिन सक्ने धारणा राखिन्  । 

नेपालमा विभिन्न कालखण्डमा स्थापना भएका पुस्तकालय आउने र बिलाउने क्रम जारी भएको विषयमा चिन्ता व्यक्त गर्दै उनले नेपालमा पुस्तकालयको आयु कति त भन्ने प्रश्न जन्मिएको चासो राखिन् ।

लेखक श्रेष्ठले पुस्तक अध्ययन र खोजकै क्रममा विभिन्न व्यक्तित्वहरुको सहायतामा पुस्तक तयार भएको बताए । 

उनका अनुसार नेपालमा पुस्तकालय व्यवस्थापनको पक्षमा लेखिएका पुस्तकहरु भेटिए पनि ऐतिहासिक पक्षमा लेखिएका पुस्तक थिएनन् । 

ऐतिहासिक पक्ष र दृष्टिकोणलाई समावेश गरेर लेखिएको पुस्तक भएकाले पुस्तकका विभिन्न कालखण्डमा भएका पुस्तकालय विकास, यसका लागि योगदान दिएका विभिन्न व्यक्तित्वको चर्चा गरिएका छन् । 

नेपालमा राज्यतर्फबाट नै पुस्तकालय व्यवस्थापनमा भएको कमजोर पक्षमा श्रेष्ठले चिन्ता व्यक्त गरे ।  

पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका प्रमुख सागरराज सुवेदीले नेपालको पुस्तकालयमा नया“ साहित्य थपिएकोमा खुशी व्यक्त गरे । 

नेपालका पुस्तकालयमा यस्ता किसिमका पुस्तकहरु धेरै नभएको सुनाउ“दै उनले यस्ता पुस्तक हामी सबैका लागि महत्वपूर्ण दस्तावेज रहेको बताए ।  

त्यस्तै पुस्तक लोकार्पण समारोहमा सहभागी बङ्गलादेशस्थित इस्ट वेस्ट युनिभर्सिटीकी प्राडा दिलारा बेगमले भावी पुस्ताका लागि नेपालको पुस्तकालयमा पुस्तक राखिने आशा व्यक्त गर्दै लेखक श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।
 
प्राडा घिमिरेले पनि विश्वविद्यालयको पाठ्यपुस्तकमा पाठ्यसामग्रीका रुपमा समेट्नुपर्ने विचार व्यक्त गर्दै लेखक श्रेष्ठलाई आगामी लेखन यात्राका लागि शुभकामना व्यक्त गरे । 

पठन सीप र पठन संस्कृतिको विकासका लागि शुरू गरिएको कथालयले डेढ दशकभन्दा लामो समयदेखि बालसाहित्यका पुस्तक प्रकाशन गर्दै आएको छ भने वी रिडले बालसाहित्य बाहेकका विभिन्न विधाका साहित्यिक पुस्तक प्रकाशन गर्दै आएको छ ।
 
कथालयले चार सय ५० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ भने वी रिडको प्रकाशनमा प्रकाशित ‘नेपालमा पुस्तकालय’ ५१ औँ पुस्तक हो ।
 
कथालय र वी रिडले पुस्तक प्रकाशनमात्र नभएर देशभरीका सरकारी तथा गैरसरकारी विद्यालयहरुमा पुस्तकालय निर्माण, व्यवस्थापन, सञ्चालन प्रशिक्षणसमेत दि“दै आएको छ । 

‘नेपालमा पुस्तकालय’ जस्ता पुस्तक प्रकाशन संस्थाका लागि अवसर रहेको बताउ“दै वी रिडका कार्यकारी अधिकृत अमात्यले यो पुस्तक सबै विद्यालयको पुस्तकालय राख्न निकै जरुरी रहेको धारणा राखे ।  साथै यो पुस्तक बजारमा उपलब्ध भएको जानकारी पनि गराए । 

पुस्तक लोकार्पण कार्यक्रममा लेखन, अध्ययन, अनुसन्धान क्षेत्रका लेखक, अध्यता, अनुसन्धाता, विद्यार्थी, पुस्तक प्रेमी एवं सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । 
    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ