राजनीति गर्ने कर्मचारी सरकारी सेवाका लागि अयोग्य हुने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
544
Shares
काठमाडौँ । सरकारले कर्मचारीतन्त्रलाई पूर्ण रूपमा राजनीतिमुक्त बनाउन निजामती कर्मचारी कुनै पनि राजनीतिक दल वा गतिविधिमा संलग्न पाइएमा भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन्।
प्रशासनिक संयन्त्रलाई थप उत्तरदायी, निष्पक्ष र नतिजामुखी बनाउन सरकारले वर्षौँदेखि कायम रहेको कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने नीति अघि सारेको छ। यसका साथै, कर्मचारीहरूमा हुन सक्ने स्वार्थको द्वन्द्व लाई नियन्त्रण गर्न ठोस कानूनी व्यवस्था गरिने राष्ट्रपति पौडेलले बताए।
कर्मचारीको कार्यसम्पादनलाई सिधै सेवा प्रवाह र सुशासनसँग जोड्नका लागि अब 'सूचकमा आधारित कार्यसम्पादन मूल्याङ्कन प्रणाली' लागू गरिने भएको छ। यसले गर्दा कागजमा मात्र नभई नतिजाका आधारमा कर्मचारीको क्षमता मापन हुने विश्वास लिइएको छ।
कर्मचारी नियुक्ति र पदोन्नति प्रक्रियालाई थप व्यवस्थित र विश्वसनीय बनाउन 'कुलिङ अफ पिरियड' को व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यो व्यवस्थाले कर्मचारी प्रशासनभित्र हुन सक्ने अनुचित प्रभाव र शक्ति केन्द्रप्रतिको झुकावलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ।