कांग्रेस बीपीले गर्यो कांग्रेसमा समाहित हुने सहमति भंग
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
253
Shares
तस्बिर फाइल
काठमाडौँ । नेपाली कांग्रेस (बीपी) ले मूल पार्टी नेपाली कांग्रेसमा समाहित हुने पूर्वसहमति भंग गर्दै एकीकरण प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। पार्टी एकीकरणका लागि भएको सहमति कार्यान्वयनमा कांग्रेस नेतृत्वले उदासीनता देखाएको आरोप लगाउँदै बीपी कांग्रेसले आफ्नै अस्तित्वमा अगाडि बढ्ने बाटो रोजेको हो।
मुख्यसचिव गणेशप्रसाद पाण्डेयका अनुसार पार्टीको वर्तमान कार्यसमिति भंग गरी सभापति सुशीलमान शेरचनको नेतृत्वमा नयाँ महाधिवेशन तयारी समिति गठन गर्ने निर्णय गरिएको छ। यसअघि गत फागुन १७ गते कांग्रेस सभापति गगन थापा र बीपी कांग्रेसका सभापति शेरचनले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण संरचना र सङ्गठन मूल पार्टीमा एकीकृत गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
विशेष महाधिवेशनमार्फत ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने सङ्कल्प अघि सारेको कांग्रेससँग एकता गर्दा बीपी कांग्रेसले पार्टीको आदर्श र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता जनाएको थियो। तर, बीपी कांग्रेसका नेताहरूले अहिलेको नेतृत्वको राजनीतिक सान्दर्भिकता सकिएको र यो अवस्थाको कांग्रेसमा मिसिनुको कुनै अर्थ नरहेको दाबी गरेका छन्। उता मूल पार्टी कांग्रेसका नेताहरूले भने बीपी कांग्रेसले आफ्नो वास्तविक हैसियतभन्दा निकै बढी माग राखेकाले सहमति कार्यान्वयन हुन नसकेको बताएका छन्।
यद्यपि बीपी कांग्रेसले विचार र मुद्दा मिल्ने अन्य दलहरूसँग सहकार्य र एकताका लागि भने ढोका खुला राखेको जनाएको छ।