सांसद प्रसाईँको प्रश्न: जेन-जी आन्दोलनका दोषीलाई मुद्दा चलाउन किन ढिलाइ ?
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
443
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले 'जेन-जी' आन्दोलनका क्रममा भएको दमन र घटनालाई लिएर तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुद्दा दायर नगरेकोमा सरकारको आलोचना गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको नियत र प्राथमिकतामाथि प्रश्न उठाएका हुन्।
सांसद प्रसाईँले आन्दोलनका क्रममा भएका गम्भीर घटनाका मुख्य जिम्मेवार पदाधिकारीहरूलाई कानुनी दायरामा ल्याउन सरकार किन हिचकिचाएको भन्दै प्रश्न गरे। "जेन-जी आन्दोलनका अभियुक्त तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन सरकारलाई के कुराले अड्कायो?" उनले सदनमा सोधे, "प्रमाण पुगेन कि सरकारको प्राथमिकता पुगेन?"
नेपालमा हुने हरेक राजनीतिक परिवर्तन र आन्दोलनपछि शहीदका परिवारले न्याय नपाउने पुरानै प्रवृत्ति दोहोरिएकोमा उनले चिन्ता व्यक्त गरे। विगतका आन्दोलनहरू जस्तै अहिलेको परिवर्तनले पनि पीडितलाई न्याय दिन नसकेको उनको तर्क थियो।
"हरेक आन्दोलनका शहीदमाथि जसरी अन्याय गरिएको छ, उहिले बाजेको पालामा जस्तै अहिले पनि उस्तै अवस्था रहने हो भने 'हात्ती आयो, हात्ती आयो फुस्स' भन्ने उखान जस्तै हुनेछ," प्रसाईँले व्यङ्ग्य गरे। उनले नयाँ पुस्ताको भावना र आन्दोलनको मर्म बुझेर दोषीलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए।