सुकुमवासी संघ आन्दोलित, बिहीबार पूर्व-पश्चिम राजमार्ग पाँच घण्टा चक्काजामको घोषणा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
551
Shares
काठमाडौँ। अखिल नेपाल सुकुमवासी संघले पूर्वपश्चिम राजमार्ग पाँच घण्टाका लागि चक्का जाम गर्ने घोषणा गरेको छ ।
बुधबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै संघले वैशाख ३१ गते बिहान ५ देखि १० बजेसम्म राजमार्ग चक्का जाम गर्ने जनाएको हो ।
अखिल नेपाल सुकुमवासी संघका इन्चार्ज नहेन्द्र खड्काले आन्दोलन देशभरका सुकुमवासीको अधिकारसँग जोडिएको भन्दै सहयोगका लागि सबैलाई अपील गरेका छन् । उनले चक्का जामलाई कुनै पार्टी वा संगठन विशेषको नभई सुकुमवासी समुदायको अधिकारका लागि गरिएको आन्दोलनका रूपमा लिन आग्रह गरे ।
‘चक्का जामले देशभरका सुकुमवासीको एकताको सन्देश दिन जरुरी छ,’ खड्काले भने, ‘सरकारी अनधिकृत डोजर आतंकका कारण आत्महत्या गर्न बाध्य हुनेदेखि अर्बौंको सम्पत्ति क्षति भएको छ, यसको प्रतिवाद आवश्यक छ ।’
संघका अध्यक्ष अमर परियारले पनि चक्का जामलाई सहयोग गर्न आग्रह गर्दै सुकुमवासीका लागि जमिन व्यवस्थापनको माग गरेका छन् ।
संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले सरकारले नागरिकको आवास अधिकारसम्बन्धी संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप लगाए । उनले प्रधानमन्त्री वालेन्द्र साहप्रति समेत आक्रोश व्यक्त गर्दै उनलाई ‘तानाशाह प्रवृत्ति’को आरोप लगाए ।
नेपाली कांग्रेस निकट नेपाल सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघका अध्यक्ष राजकुमार पाण्डेले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ७७ ओटै जिल्लामा संघर्षमा उत्रन आह्वान गरेका छन् ।
जसपा निकट सुकुमवासी संघका अध्यक्ष तथा संयुक्त सुकुमवासी मोर्चाका महासचिव अर्जुन कुँवरले पनि चक्का जाममा समर्थन जनाउँदै डोजर अभियानविरुद्ध आपत्ति जनाएका छन् ।
संघकी उपाध्यक्ष लीला मोक्तानले चक्का जाम बाध्यता भएको भन्दै नागरिक अधिकारका लागि साथ दिन आग्रह गरिन्।
महासचिव प्रकाश खरेलले पूर्व-पश्चिम राजमार्ग चक्का जामसँगै भोलि माइतीघर मण्डलामा संयुक्त प्रदर्शन हुने जानकारी दिए ।