arrow

नीति तथा कार्यक्रम यथास्थितिवादी र अस्पष्ट: वर्षमान पुन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
barsaman-pun-01-31.jpg

काठमाडौँ । नेकपाका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा जारी छलफलमा भाग लिँदै उनले यो कार्यक्रमलाई 'यथास्थितिवादी' को संज्ञा दिँदै यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आशङ्का व्यक्त गरे।

सांसद पुनले नीति तथा कार्यक्रममाथिको छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति कडा असन्तुष्टि जनाए। विगतमा कम्तीमा पाँच दिनसम्म गहन छलफल हुने र त्यसकै आधारमा बजेट निर्माण हुने परम्परा रहेकोमा यसपटक समय निकै कटौती गरिएको उनले बताए। उनले भने, "प्रधानमन्त्रीले संसद्मा प्रतिपक्षी दलका नेताहरूको प्रश्नको सामना गर्दै आफ्ना कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्नेमा त्यसो हुन सकेको छैन।"

दुई तिहाइ नजिकको समर्थन प्राप्त सरकारसँग जनताको उच्च आकाङ्क्षा भए पनि नीति तथा कार्यक्रम र सत्तारुढ दलको चुनावी प्रतिबद्धताबीच कुनै तादात्म्यता नदेखिएको पुनले उल्लेख गरे। उनले सरकारको प्राथमिकता के हो भन्ने कुरामा स्पष्टता नभएको दाबी गरे।

उनले थपे, "प्रधानमन्त्रीकै नीति तथा कार्यक्रम भए पनि उहाँको उपस्थिति र स्वामित्वमा कमी देखियो। सत्तारुढ दलको सय बुँदे कार्ययोजना र यो नीति तथा कार्यक्रम मेल खाँदैनन्। राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव आफैँले प्रस्तुत गरेर पुनः आफैँले समर्थन नगर्ने जस्तो नयाँ र अनौठो अभ्यास संसद्मा देखिएको छ।"

राजनीतिक उपलब्धिका बारेमा चर्चा गर्दै उनले ६ दशक लामो सङ्घर्षबाट सामन्तवादको अन्त्य भई सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण समेत गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ