श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड र पर्चासहित प्रदर्शन गरेपछि सभामुख अर्यालको यस्तो निर्देशन
संसदीय मर्यादामा बसेर मात्र विरोध गर्न सांसदहरूलाई निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
809
Shares
काठमाडौँ ।प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद्भित्र मर्यादित भएर आफ्ना गतिविधि सञ्चालन गर्न सांसदहरूलाई निर्देशन दिएका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड र पर्चासहित सरकारको विरोध गर्दै केहीबेर उठेर मौन प्रदर्शन गरेपछि सभामुख अर्यालले यस्तो निर्देशन दिएका हुन्।
संसद्मा प्लेकार्ड र ब्यानर प्रदर्शन गर्ने कार्य संसदीय मर्यादाविपरीत रहेको उल्लेख गर्दै उनले भविष्यमा यस्ता गतिविधि नगर्न सांसदहरूलाई सचेत गराए। बैठकमा बोल्दै सभामुख अर्यालले भने, “संसद् कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो हो। त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा रहेर विरोध गर्न म यहाँहरूलाई यो आदेशकै रूपमा लिइदिन जानकारी गराउँदछु।”
सभामुखको निर्देशन र सचेत गराएपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरूले आफ्नो घाँटीमा सरकारको विरोधमा लेखिएका पर्चाहरू झुन्ड्याएरै बैठकमा सहभागिता जनाइरहेका छन्। आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको आजको बैठकमा सांसदहरूको यो शैलीले केहीबेर संसद्को वातावरण तताएको थियो।