संसदलाई जनताको समस्या समाधान गर्ने थलो बनाउनुपर्नेमा युवराज दुलालको जोड
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
351
Shares
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नेकपाले सरकारलाई संसदप्रति जवाफदेही बन्न आग्रह गरेको छ।
सोमबार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन-२०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकार संसदप्रति उत्तरदायी बन्नुपर्ने बताएका हुन्।
उनले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने प्रभावकारी थलोका रूपमा स्थापित गर्न नियमावलीमा स्पष्ट व्यवस्था आवश्यक रहेको धारणा राखे।
दुलालले विश्वका विभिन्न मुलुकमा संसदीय व्यवस्थामाथि आलोचना हुने गरेको उल्लेख गर्दै नेपालको संसद भने काम गर्ने, जनताको भावना सम्बोधन गर्ने र मर्यादित संस्था बन्नुपर्ने बताए।
उनले संसदलाई केवल ‘गफ गर्ने अखडा’ का रूपमा नभई जनप्रतिनिधिहरूले जनताको आवाज उठाउने र समस्या समाधान गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
दुलालले सरकारलाई संसदप्रति जवाफदेही बनाउने, साथै प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि संसदप्रति उत्तरदायी बनाउने व्यवस्था नियमावलीमा समेटिनुपर्ने आवश्यकता औंल्याए।