रास्वपाभित्र गुटबन्दी छैन, सभापतिको विकल्प कसैले खोजेको छैन: उपनेता पराजुली
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
2.8k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीभित्र कुनै पनि किसिमको गुटबन्दी र उपगुट नरहेको दाबी गरेका छन्। सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले रास्वपाभित्र विभिन्न वैचारिक पृष्ठभूमि भएका राजनीतिक शक्तिहरू समाहित भए पनि सबैको साझा लक्ष्य राष्ट्र निर्माण नै भएकाले गुटबन्दीको कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन्।
पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै उनले सभापति रवि लामिछानेको विकल्प पार्टी र जनता कसैले पनि नखोजेको बताए। आगामी असार ७, ८ र ९ गते हुने ऐतिहासिक राष्ट्रिय महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत सबै वैधानिक जिम्मेवारीहरू टुङ्ग्याउने उनको भनाइ थियो।
सञ्चारकर्मीहरूसँग बोल्दै उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नेतृत्व खोजिरहेको छैन र नेपाली जनताले पनि सभापतिको विकल्प खोजेका छैनन्। असार ७, ८ र ९ गते हुने ऐतिहासिक राष्ट्रिय महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत सबै वैधानिक जिम्मेवारीहरू टुङ्ग्याउनेछ।”
संसद्को कामकारबाही र बजेट छलफलका सम्बन्धमा बोल्दै उपनेता पराजुलीले यस पटक विनियोजन विधेयक र नीति तथा कार्यक्रममाथिको छलफल विगतको तुलनामा द्रुत गतिमा अघि बढेको उल्लेख गरे। विगतमा हप्तादिन चल्ने छलफल यस पटक दुई दिनमै टुङ्ग्याइएको सत्य भए पनि यसलाई सरकारले पेल्न खोजेको रूपमा बुझ्न नहुने उनले बताए। बरु कार्यपालिका र व्यवस्थापिका दुवैले ‘फास्ट ट्रयाक’ मा काम गर्न खोजेको रूपमा बुझ्नुपर्ने र प्रतिपक्षले उठाएका महत्त्वपूर्ण सुझावहरूलाई बजेटमा समेट्न प्रधानमन्त्री र अर्थमन्त्रीले प्रतिबद्धता जनाएको उनले जानकारी दिए।
प्रधानमन्त्री संसद्मा अनुपस्थित भएको भन्ने आरोपको खण्डन गर्दै पराजुलीले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी र टेबल गर्नुपर्ने विषयहरूमा पूर्ण सक्रियता देखाइरहेको स्पष्ट पारे। सरकारको १०० दिने कार्ययोजनाबारे जानकारी दिँदै उनले मन्त्रीहरू सार्वजनिक कार्यक्रम र रिबन काट्ने काममा भन्दा नतिजामुखी काममा केन्द्रित भएको दाबी गरे।
पार्टीका नेताहरूमाथि लागेका आरोप र नैतिकताका विषयमा स्पष्ट पार्दै उपनेता पराजुलीले पूर्वगृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिइसकेको र सम्पत्ति छानबिनका लागि समिति बनिसकेको जानकारी दिए।
मोरङ क्षेत्र नं. २ का सांसद र अन्य सदस्यहरूका विरुद्ध लागेका आरोपहरू आधारहीन र चरित्र हत्या गर्ने निकृष्ट उद्देश्यले आएको भन्दै उनले रास्वपा विधि र कानुनी प्रक्रियामा पूर्ण विश्वास गर्ने पार्टी भएको बताए। कानुनी राज्यमा प्रमाणविहीन आरोपहरूको कुनै अर्थ नरहने उनको भनाइ थियो।