arrow

सर्वोच्चको पूर्ण बैठकले गर्‍यो शोक प्रस्ताव पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
supreme-court-photo-oli.jpg

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा बसेको पूर्ण बैठक (फूलकोर्ट) ले पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको उपस्थितिमा बसेको उक्त बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेको छ। साथै, यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति सर्वोच्च अदालतले हार्दिक समवेदना प्रकट गरेको छ।

यही जेठ ६ गते ९५ वर्षको उमेरमा निधन भएका पूर्वन्यायाधीश प्रधानले नेपालको न्याय तथा कानुन क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको बैठकले उच्च सम्मानका साथ स्मरण गरेको छ। बैठकपछि सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेद्वारा जारी विज्ञप्तिमा स्वर्गीय प्रधान देवानी र फौजदारी कानुनका क्षेत्रमा विशेष दख्खल राख्ने, लगनशील, मिलनसार, सहृदयी, मृदुभाषी एवं अनुभवी न्यायिक व्यक्तित्वका रूपमा स्थापित भएको उल्लेख गरिएको छ। नेपालको न्यायिक र कानुनी इतिहासमा निष्पक्षता, बौद्धिकता र निष्ठाका पर्यायका रूपमा परिचित उहाँको निधनबाट न्याय, कानुन र समग्र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको सर्वोच्च अदालतले जनाएको छ।

स्वर्गीय हरगोविन्दसिंह प्रधान विसं २०३२ भदौ २३ गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त भएका थिए। त्यसपछि विसं २०४८ भदौ १४ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका उनले विसं २०५१ पुस ५ गतेसम्म सर्वोच्च अदालतमा रहेर देशको न्याय प्रणालीलाई सुदृढ र निष्पक्ष बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ