काठमाडौँ । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभर सञ्चालन गरेको विशेष सुरक्षा अपरेसनका क्रममा अवैध हातहतियार तथा खरखजाना मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले दिएको जानकारी अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी गण्डकी प्रदेशबाट १४ जना रहेका छन्। यसैगरी लुम्बिनी प्रदेशबाट नौ जना, कर्णाली प्रदेशबाट आठ जना, काठमाडौँ उपत्यकाबाट तीन जना, सुदूरपश्चिम प्रदेशबाट तीन जना तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशबाट एक/एक जना पक्राउ परेका हुन्।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट विभिन्न प्रकारका जम्मा २९ थान अवैध हातहतियार बरामद गरेको छ, जसमा २१ थान भरुवा बन्दुक, दुई थान कटुवा पेस्तोल, दुई थान एयरगन, एक थान चाइनिज पेस्तोल, एक थान साधारण पेस्तोल, एक थान रिभल्भर र एक थान अन्य बन्दुक रहेका छन्। हतियारका साथै उनीहरूको लुकाएर राखेको अवस्थामा ठुलो परिमाणमा गोलीगठ्ठा समेत फेला परेको छ। प्रवक्ता काफ्लेका अनुसार प्रहरीले उनीहरूको साथबाट एसएलआरको २६३ राउण्ड गोली, विभिन्न बन्दुकहरूमा लाग्ने ७० राउण्ड गोली र चाइनिज पेस्तोलको एक राउण्ड गोली समेत बरामद गरेको छ।
अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियारको कारोबार तथा यसको प्रयोग गर्नेहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील रहेको प्रवक्ता काफ्लेले स्पष्ट पारे। साथै नेपाल प्रहरीले सर्वसाधारणसँग अपिल गर्दै अवैध हतियार कतै लुकाइछिपाइ राखेको थाहा भएमा तुरुन्त प्रहरीलाई सूचना दिन र त्यस्ता हतियारहरू स्वतःस्फूर्त रूपमा बुझाएर शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न आग्रह गरेको छ।