arrow

तराईमा अत्यधिक गर्मी, 'लु' ले जनजीवन प्रभावित

नेपालगञ्जमा 'लो भोल्टेज' र बत्ती जाँदा नागरिकलाई सास्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ९ शनिबार
hot-day-children-2024.jpg

काठमाडौँ । तराईका जिल्लाहरूमा अत्यधिक गर्मी र तातो हावा (लु) का कारण जनजीवन नराम्ररी प्रभावित भएको छ। दिउँसोपख चरक्क लाग्ने घाम र तातो हावाका कारण सर्वसाधारणहरू घरबाहिर निस्कन नसक्दा मुख्य सडक तथा बजारहरू सुनसान देखिन थालेका छन्। गर्मीबाट बच्नका लागि बजारमा उखुको जुस र लस्सी पिउने मानिसहरूको घुइँचो लाग्न थालेको छ।

जल तथा मौसम विज्ञान विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार जेठ ४ गतेयता यस क्षेत्रको तापक्रम निरन्तर बढिरहेको छ। गत बिहीबार यस वर्षकै सबैभन्दा बढी ४१.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। विभागले दिउँसो २:०० देखि साँझ ५:४५ बजेसम्मको तापक्रमलाई आधार मानी आज साँझ पनि ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने पूर्वानुमान गरेको छ। नेपालगञ्जको इतिहासमा सन् २०१२ जुन १४ मा सबैभन्दा बढी ४५ डिग्री सेल्सियस तापक्रम पुगेको रेकर्ड छ।

बढ्दो गर्मी र तातो हावाको सीधा असर विद्यालय जाने बालबालिका र दिनभर खुला आकाशमुनि काम गर्ने दैनिक ज्यालादारी श्रमिकहरूमा परेको छ। मौसम विभागका प्रमुख अवस्थीका अनुसार तापक्रमको अवस्था हेरी 'तातो दिन', 'अधिक तातो दिन' र 'अत्यधिक तातो दिन' का रूपमा वर्गीकरण गरिने र कोहलपुरबाहेक राँझा विमानस्थल तथा खजुरा स्टेसनको तथ्याङ्कलाई आधार मानेर निष्कर्ष निकालिने गरिन्छ। "बिचमा एक दिन गर्मी कम भए पनि समग्रमा तापक्रम बढ्दो क्रममै छ," उनले भने।

एकातर्फ अत्यधिक गर्मीले सर्वसाधारण आकुलव्याकुल छन् भने अर्कातर्फ अनियमित विद्युत् आपूर्ति र 'लो भोल्टेज' का कारण स्थानीयले थप सास्ती खेप्नुपरेको छ। नेपालगञ्ज-९ का स्थानीय शिवदत्त भट्टका अनुसार लाइन आएको समयमा पनि भोल्टेज असाध्यै कम हुँदा घर तथा कार्यालयका पंखाहरू राम्ररी चल्न सकेका छैनन्। कम भोल्टेजकै कारण पानी तान्ने मोटर लगायतका विद्युतीय उपकरणहरू बिग्रने समस्या बढेको छ। बर्सेनि दोहोरिने यस्तो समस्याको शीघ्र र दीर्घकालीन समाधान हुनुपर्ने स्थानीयको माग छ।

विद्युत् आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर सञ्जयकुमार मिश्राले कोहलपुर ग्रिड शाखाबाट प्रसारण हुने विद्युत्मा अत्यधिक लोड (भार) भएकाले नेपालगञ्जमा त्यसको प्रत्यक्ष असर परेको बताए। कोहलपुर ग्रिड शाखाबाटै 'लो भोल्टेज' को विद्युत् सबस्टेसनमा आइरहेकाले वितरणमा समस्या भएको उनको भनाइ छ।

मिश्राका अनुसार यो समस्याको दीर्घकालीन समाधानका लागि जानकीको बकसपुरमा १३२/३३ केभीको नयाँ प्रसारण लाइन निर्माण भइरहेको छ र उक्त कार्य सम्पन्न भएपछि नेपालगञ्जको विद्युत् समस्या पूर्ण रूपमा समाधान हुनेछ। हालका लागि आपूर्ति सहज बनाउन अहिलेसम्म ८ वटा ट्रान्सफर्मर परिवर्तन गरिएको र बढी समस्या देखिएका क्षेत्रहरूमा नयाँ फिडरको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ