एमालेको प्रश्न -प्रधानमन्त्री संसद्सँग किन तर्सिरहेको ? [भिडियो]
के प्रधानमन्त्री वालेन्द्र साहलाई खोपीको देउता बनाएर घण्टी बजाएर पूजा गर्न लागेको हो ?
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १२ मंगलबार
480
Shares
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) संसद्सँग किन तर्सिरहेको भन्दै प्रश्न उठाएको छ। मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसद्बाट टाढा रहन खोजेको र संसद्प्रति गैरजिम्मेबार बनेको आरोप लगाएका छन्।
संसद्मा बोल्दै प्रमुख सचेतक महरले यति धेरै जनमत पाएको सरकार र त्यसको प्रमुख संसद्सँग किन त्रसित छ र संसद्लाई छल्ने प्रयास किन भइरहेको छ भनी प्रश्न गरे। सरकार संविधान र संसदीय अभ्यासविपरीत अघि बढिरहेको आरोप लगाउँदै उनले संविधानको धारा ७६(१०) र धारा ८१ को भावना सरकारले उल्लङ्घन गरिरहेको उल्लेख गरे। संविधानले प्रधानमन्त्री र मन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने स्पष्ट व्यवस्था गरे पनि प्रधानमन्त्री अहिलेसम्म संसद्मा उपस्थित भएर कुनै पनि विषयमा जवाफ दिन नआएको उनको भनाइ थियो।
प्रमुख सचेतक महरले कार्यपालिका र राष्ट्रपतिबीच दूरी सिर्जना गर्ने प्रयास भइरहेको आरोप समेत लगाए। राष्ट्रपति संस्थालाई अपमानित र बाइपास गर्ने गतिविधि भइरहेको भन्दै उनले संविधान संशोधन सम्बन्धी बहस र कार्यदल बन्दै गरेको अवस्थामा कस्तो बहस सिर्जना गर्न खोजिएको हो भनी प्रश्न उठाए।
आगामी गणतन्त्र दिवसका अवसरमा समेत प्रधानमन्त्रीले सम्बोधन नगर्ने चर्चा सार्वजनिक भइरहेको विषयमाथि प्रकाश पार्दै उनले सरकारको भूमिकामाथि थप शङ्का व्यक्त गरे।
प्रधानमन्त्रीले संसद् नियमावलीका धेरै कुराहरूलाई अनदेखा गरिरहेको आरोप लगाउँदै महरले भने, ‘उहाँ किन खोपीको देउता बन्न खोज्दै हुनुहुन्छ ? के प्रधानमन्त्री वालेन्द्र साहलाई खोपीको देउता बनाएर घण्टी बजाएर पुजा गर्न लागेको हो ? लोकतन्त्रको चिरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ?’
आफूलाई उत्पत्ति गर्ने संसद्को अवमूल्यन भइरहेको भन्दै उनले यी सबै गम्भीर विषयहरूमा प्रधानमन्त्री आफैँ संसद्मा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग गरे। प्रधानमन्त्री संसद्मा नआई संसद्को कारबाही अगाडि बढ्न नसक्ने समेत उनले स्पष्ट पारे।