गणतन्त्र दिवसमा सम्बोधन नगर्ने बालेनको निर्णयलाई कांग्रेसले भन्यो ‘गैरजिम्मेवार’
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
2.9k
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने प्रधानमन्त्री वालेन्द्र साह (बालेन)को निर्णय गैरजिम्मेवार भएको टिप्पणी गरेको छ। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री साहको उक्त निर्णय गैरजिम्मेवारी र उत्तरदायी नभएको भन्दै आपत्ति जनाएको हो।
बैठकपछि कुरा गर्दै प्रमुख सचेतक बासना थापाले अहिलेसम्म अभ्यासमा नै नआएको सो कुरा प्रधानमन्त्री साहले गर्न खोज्नु गैरजिम्मेवार र उत्तरदायित्व बोधको कमीको रूपमा पार्टी संसदीय दलले लिएको स्पष्ट पारिन्। प्रधानमन्त्रीले आफू समारोहमा उपस्थित हुन नसक्ने भए त्यसको स्पष्ट कारण (जस्तै: व्यस्तता, स्वास्थ्य अवस्था वा बाहिर जाने कार्यक्रम) खुलाउनुपर्ने उनको भनाइ थियो।
संसदीय दलको बैठकमा सरकारले जेठ १५ गते ल्याउने आगामी आर्थिक वर्षको बजेट, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका विषयमा पनि गहन छलफल भएको थियो। बजेटलाई कसरी अघि बढाउने भन्ने एजेन्डामा केन्द्रित रहेर छलफल हुँदा सांसदहरूले भने सरकारले ल्याउने बजेटको पूर्ण रूप हेरेर मात्रै आफ्नो धारणा बनाउनुपर्ने सुझाव राखेका थिए।
यसका साथै कांग्रेस संसदीय दलमा लामो समयदेखि रिक्त रहेका केही पदहरूलाई पूर्णता दिने विषयमा पनि बैठकमा छलफल भएको छ। विभिन्न विषयगत संसदीय समितिहरूमा संयोजक बनाउने आन्तरिक तयारी भइरहेकाले सोही विषयलाई लिएर आवश्यक निर्णय लिन बैठक केन्द्रित रहेको कांग्रेस संसदीय दलले जनाएको छ।