गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने प्रधानमन्त्रीको निर्णय गैरजिम्मेवार [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
943
Shares
काठमाडौँ। नेपाली कांग्रेसले गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने प्रधानमन्त्री वालेन्द्र साह बालेनको निर्णयलाई गैरजिम्मेवार र उत्तरदायित्वबोधको कमी भएको टिप्पणी गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय दल बैठकले प्रधानमन्त्री साहको उक्त निर्णयप्रति आपत्ति जनाएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले गणतन्त्र दिवसजस्तो राष्ट्रिय समारोहमा सरकार प्रमुखको अनुपस्थिति अहिलेसम्मको अभ्यासविपरीत भएको बताइन् ।
उनले प्रधानमन्त्री उपस्थित हुन नसक्ने भए त्यसको स्पष्ट कारण सार्वजनिक गर्नुपर्ने बताइन् ।
स्वास्थ्य, विदेश भ्रमण वा अन्य व्यस्तताको कारण देखाएर जानकारी दिएको भए स्वाभाविक मान्न सकिने तर कुनै स्पष्ट कारणबिना समारोहमा सम्बोधन नगर्ने निर्णय गर्नु गैरजिम्मेवार भएको उनको भनाइ थियो ।
प्रमुख सचेतक थापाका अनुसार बैठकमा आगामी जेठ १५ गते सरकारले ल्याउने आर्थिक वर्षको बजेट, संसद्मा पार्टीको भूमिका तथा आगामी रणनीतिबारे पनि छलफल गरिएको थियो ।
बजेटलाई कसरी अघि बढाउने भन्ने विषय बैठकको मुख्य एजेण्डामध्ये एक रहेको उनले बताइन् ।
उनका अनुसार सांसदहरूले सरकारले ल्याउने बजेटको अध्ययन गरेपछि मात्रै पार्टीको औपचारिक धारणा बनाइनुपर्ने सुझाव दिएका थिए ।
बैठकमा संसदीय दलभित्र रिक्त रहेका पदहरूलाई पूर्णता दिने विषयमा पनि छलफल भएको कांग्रेस संसदीय दलले जनाएको छ । साथै संसदीय समितिका संयोजक चयनबारे समेत प्रारम्भिक तयारी गरिएको बताइएको छ ।