काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अपराह्न ४:०० बजे बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रम छ। नेपालको संविधान २०७२ जारी भएयता गणतन्त्र दिवसको अवसर पारेर हरेक वर्ष जेठ १५ गते नै बजेट ल्याउने संवैधानिक व्यवस्था रहेको छ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट प्रस्तुत गरिनेछ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सबै सांसदहरूलाई अपराह्न ३:४५ बजे नै उपस्थित भइसक्न सूचित गरेका छन् भने बजेट प्रस्तुत भएपछि जेठ १५ गते शुक्रबार बेलुकी ५:३० बजे प्रतिनिधिसभाको छुट्टै बैठक बस्नेछ।
यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तय गरेको थियो। चालु आवको मूल बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको भए पनि गत भदौको आन्दोलनपछि गठन भएको सरकारका तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत यसको आकार १६ खर्ब ८८ अर्बमा झारेका थिए।
यो बजेट निर्वाचनका क्रममा रास्वपाले प्रस्तुत गरेको वाचापत्र, सरकार गठनपछि सार्वजनिक भएको शासकीय सुधारको १०० बुँदे कार्ययोजना, विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका साथै संसदमा सांसदहरूले दिएका सुझावहरूलाई केन्द्रमा राखेर तयार गरिएको छ।
बजेट भाषणको अघिल्लो रात सिंहदरबारस्थित अर्थ मन्त्रालयभित्रको माहोल निकै ब्यस्त देखिन्थ्यो। अर्थमन्त्री वाग्ले र मन्त्रालयका कर्मचारीहरू कागजात, तथ्याङ्क र योजनाको अन्तिम परिमार्जनका लागि रात अबेरसम्म फाइल र आन्तरिक बैठकहरूमा व्यस्त रहेका थिए। नयाँ सरकारको यो बजेटप्रति कर नीतिको पर्खाइमा रहेका व्यवसायी, अनुदानको आश गरेका किसान र रोजगारीको खोजीमा रहेका युवाहरूले ठुलो अपेक्षा राखेका छन्।