संसद्मा कांग्रेसको भूमिकालाई लिएर यसो भन्छन् दलका नेता आङ्देम्बे [भिडियो]
सत्ताप्राप्ति गर्नको लागि शुरु गरिएको यात्राले कहिले एमालेको चालमा ढल्किन पुग्यौँ, कहिले माओवादीको चालमा, यी दुवैको चालमा मिसिदा हामीले हाम्रो चाल विर्सिन पुग्यौँ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १६ शनिबार
590
Shares
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्मा सङ्ख्याभन्दा पनि त्यहाँ उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुने बताएका छन्। शनिवार आयोजित नेपाल थारु सङ्घको अधिवेशनलाई सम्बोधन गर्दै उनले संसद्मा कांग्रेसको सङ्ख्या कम भए पनि आफूहरूले उठाउने मुद्दा वजनदार र महत्त्वपूर्ण हुने स्पष्ट पारे। सङ्ख्याको बलमा मात्रै लोकतन्त्र सञ्चालन हुन नसक्ने उल्लेख गर्दै उनले संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि कांग्रेसले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेता आङ्देम्बेले पार्टी र संसद्लाई अलग–अलग ढङ्गले हेर्ने प्रवृत्तिको अन्त्य गर्दै दुवैलाई एउटै सोच र ट्र्याकमा अघि बढाउने वातावरण निर्माण गरिएको दाबी गरे। विगतमा कांग्रेसभित्र संसद् र पार्टीबिच दूरी बढाउने तथा पार्टीलाई कमजोर बनाउने सोच हाबी हुन खोजेको बताउँदै उनले त्यस्ता प्रवृत्तिलाई निस्तेज पारिएको उल्लेख गरे। संसदीय अनुभवमा आफूहरू केही कमजोर देखिए पनि पार्टी र संसद्बिचको सहकार्य र समन्वयमार्फत संसद्का समस्याहरूको समाधान खोज्ने गरिएको उनको भनाइ छ।
संसद् र पार्टीको सम्बन्धबारे बोल्दै उनले भने, “संसद र पार्टीलाई पृथक ढंगबाट हेर्ने सोचबाट निकालेर पार्टी र संसद एउटै ट्रयाक बाट हिँड्नुपर्छ, एउटै सोचबाट हिड्नुपर्छ, भन्ने मान्यतालाई स्थापित गरिरहेका छौँ । नेपाली कांग्रेसले झन्डै झन्डै बिर्सिन खोजेको एउटो त्यो पाटो थियो, संसद र पार्टीलाई छुट्टै बनाएर पार्टीलाई बुमर्याङमा बनाउने वा संसद एकादेशको कथाजस्तो, पार्टी अर्कैदेशको जस्तो बनाउने सोच र प्रवृत्ति हावी हुने कोशिस भइरहेको थियो्, यी सम्पूर्ण सोच र प्रवृत्तिहरुलाई निष्तेज बनाएर संसद र पार्टी एउटै ट्रयाकबाट हिँड्ने वातावरण हामीले बनाएका छौँ । अनुभवले हामी कम हौला, शब्द सुन्ने बित्तिकै परिणाममा पुग्ने तर्क प्रश्तुत गर्न नसकौँला तर पार्टी र संसद बीचको समन्वयबाट हामीले समयलाई व्यवस्थापन करके हामीले संसद भित्र देखिएका समस्यलाई निष्र्कषमा पुर्याउने कोशिस गरिरहेका छौँ । हामी संसदमा निरन्तर आवाजहरु उठाइराख्छौँ, त्यहाँ संसदीय मर्यादालाई कायम गराउने मात्रै होइन, लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गराउनको लागि पनि संख्याको भरमा नाङ्गो नाच नाच्नेहरुलाई लोकतान्त्रिक मूल्य मान्यतामा संख्याको परिणाममात्रै ठूलो कुरा हुँदैन, त्यहाँभित्र उठाइने मुद्दा ठूलो हो भन्नेकुराको स्थापित हामी गर्नेर्छौँ।”
सम्बोधनका क्रममा नेता आङ्देम्बेले पार्टीभित्र देखिएका आन्तरिक समस्याहरूको समाधान गर्दै एकतामा जोड दिनुपर्ने आवश्यकता औँल्याए। विगतमा केवल सत्ता प्राप्तिका लागि कहिले नेकपा (एमाले) त कहिले माओवादी केन्द्रसँग सहकार्य गर्दा कांग्रेसले आफ्नो मौलिक पहिचान गुमाएको उनले स्वीकार गरे। अब सबै नेता-कार्यकर्ता एकजुट भएर सो गुमेको पहिचान फिर्ता ल्याउनुपर्नेमा उनले जोड दिए।
कांग्रेसको मूल चरित्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा हिमाल, पहाड, तराई–मधेसका विविध संवेदनालाई समेट्ने रहेको स्मरण गराउँदै उनले भने, “सत्ताप्राप्ति गर्नको लागि शुरु गरिएको यात्राले कहिले एमालेको चालमा ढल्किन पुग्यौँ, कहिले माओवादीको चालमा मिसिन पुग्यौँ । यी दुवैको चालमा मिसिदा हामीले हाम्रो चाल विर्सिन पुग्यौँ । नेपाली कांग्रेसको चाल भनेको बहुजाती, भाषाधर्म, संस्कृतिको, हिमाल, पहाड, तराई, मधेसभित्रको संवेदनको, यी सम्पूर्ण संवेदनाहरुको एकिकृत भावना हो, नेपाली कांग्रेस । नेपाली कांग्रेस हिजो खल्तीको जस्तो भयो, तर आज खल्तीबाट बाहिर निस्केर हेर्दाखेरी सुन्दर संसार छ । यो संसार नेपाली कांग्रेसको भूमी हो । यसभित्रबाट हामीले हाम्रो पहिचानको खोजी गर्नुपर्छ । पहिचान हराएको छैन, खोज्ने सोचहरु हराएको हो, खोज्ने हातहरु हराएको हो । आज हात र सोच हामीले पाएका छौँ।”
उनले वर्तमान पार्टी नेतृत्वसँग कांग्रेसलाई पुनःजागृत गर्ने दृढ जोश, जाँगर र हुटहुटी रहेको समेत दाबी गरे।