arrow

प्रतिनिधि सभा

प्रधानमन्त्रीको माफी माग गर्दै हर्कले उठाए हाजिरी र पदमाथि संवैधानिक प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
harkaraj-19.jpg

काठमाडौँ ।श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीद्वारा संसद्मा नेपालले पनि भारतको जमिन मिचेको छ भनी दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संसद्मा जवाफ माग गरेका छन्। मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताको विषयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट हुनुपर्नेमा जोड दिए।

सांसद राईले प्रधानमन्त्रीले गत जेठ १७ गते दिएको अभिव्यक्ति राष्ट्रहित अनुकूल नरहेकाले त्यसलाई अविलम्ब सच्याउनुपर्ने र प्रधानमन्त्री आफैँ सदनमा उपस्थित हुनुपर्ने माग राखे।

नेपाल-भारत सीमा मिचिएको विषयमा प्रधानमन्त्रीले बिना प्रमाण र पुष्टि बोलेको भए त्यसका लागि कुनै व्यक्ति वा सांसदलाई मात्र नभई सम्पूर्ण ३ करोड नेपाली जनतासँग माफी माग्नुपर्ने अडान उनले व्यक्त गरे। सरकारलाई गल्ती गर्ने कुनै छुट नहुने भन्दै उनले प्रधानमन्त्रीले भारतसँगको सीमा विवादका सम्बन्धमा सदनमा आएर तथ्यगत पुष्टि गर्नुपर्ने र हल्का टिप्पणी गर्न नहुने बताए।

यस बैठकमा सांसद राईले प्रधानमन्त्रीको सदनमा उपस्थितिको विषयलाई लिएर गम्भीर संवैधानिक र कानुनी प्रश्नसमेत उठाएका छन्। प्रतिनिधि सभा नियमावलीको नियम ४ को उपनियम (१) बमोजिम प्रत्येक सदस्यले बैठकमा बस्नुअघि अनिवार्य रूपमा हाजिर गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको हाजिरी अभिलेख सार्वजनिक गर्न माग गरे।

संविधानको धारा ७७ को उपधारा (१) को खण्ड (ग) लाई उद्धृत गर्दै उनले यदि प्रतिनिधि सभाको सदस्य नरहेको अवस्थामा प्रधानमन्त्रीको पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्थातर्फ ध्यानाकर्षण गराए।

प्रधानमन्त्री संसद्मा आउँदा हाजिर गरे/नगरेको र हालसम्मका सदनका बैठकहरूमा कति पटक उपस्थित भई हाजिर गरे भन्ने विषयमा अभिलेख शाखाबाट स्पष्ट जानकारी गराउन उनले सभामुखसँग माग गरे। यदि प्रधानमन्त्रीले संसद्मा नियमित हाजिर नगरेको पाइएमा उनी प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुने र सोही आधारमा प्रधानमन्त्री पदबाट मुक्त हुनुपर्ने संवैधानिक जिकिर उनले गरे।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ