arrow

रोपियो शमी, कपूर र फलफूलका बिरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
83-2-23-plantation.jpg

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले ४४९ वटा बिरुवा रोपेको छ । उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले वडा नं. १७ र वडा नं. १९ का नदी किनारा, पशुपति क्षेत्र, कालीमाटी लगायत स्थानमा समी, कपूर, धुपी, फलफूल र फूलका बिरुवा रोपेको हो ।

लखतीर्थमा आयोजित कार्यक्रममा महानगरको वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वित्त समितिका संयोजक ईश्वरमान डंगोलसहित स्थानीय संघसंस्था तथा समुदायका अगुवाहरुले बिरुवा रोपेका हुन् । 

लखतीर्थसँगै कंकेश्वरीमा भएको वृक्षारोपणमा वडाका जनप्रतिनिधि, नेपाल खड्गी सेवा समिति, नेपाल ग्रीस मैत्री तथा सांस्कृतिक संघ, ग्लोबल्ली कन्सर्न फर क्लाइमेट चेञ्जलगायत सामाजिक तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो । 

कार्यक्रममा वातावरण समितिका संयोजक एवं वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जनले, रोपिएका बिरुवा जोगाउन र हुर्काउन स्थानीयको साथ चाहिने बताए । ‘बिरुवा रोप्ने, गोडमेल गर्ने, मल राख्ने, पानी राख्ने काम महानगरपालिकाले गर्छ । यति गरेर मात्र पनि बिरुवा नजोगिन सक्छन् । तर, स्थानीयहरुले चाहनुभयो भने यस्ता बिरुवा जोगाउन सक्नुहुन्छ,’ महर्जनले बताए । 

सहरी स्वच्छताका लागि हरियाली बढाउने काममा आयोजनाले आन्तरिक तथा वाह्य समन्वय बढाएर काम गरिरहेको आयोजना प्रमुख धनबहादुर बस्नेतले बताए । 

आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार आज लखतीर्थमा १ सय वटा कपुर र ६४ वटा समी, कालीमाटीमा ४५ वटा कपुर र ४० वटा समी, वडा नं. १७ विष्णुमती करिडोरमा २० वटा कपुर र ५० वटा फलफुल, पशुपति क्षेत्रमा २५ वटा समी, २५ वटा कपुर, २५ वटा धुपी र २५ वटा फलफुलका बिरुवा र ५० वटा फलफुल, वडा नं. १९ कंकेश्वरीमा ३० वटा फलफुलका बिरुवा रोपिएका हुन् । 

श्रेष्ठका अनुसार यस वर्ष महानगरपालिकाभित्र करिब ५ हजार बिरुवा र फलफुल राखिएका छन् । यससँगै फूलका बोट पनि रोपिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ