जनताको विश्वासमा आघात नपुग्ने गरी काम गर्नु जनप्रतिनिधिको दायित्व : सभामुख अर्याल
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
365
Shares
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ काम गर्नुपर्ने बताएका छन्।
सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै उनले जनताले दिएको विश्वासलाई कायम राख्नु जनप्रतिनिधिको प्रमुख दायित्व भएको उल्लेख गरे।
‘जनताले विश्वास गरेर प्रतिनिधित्वको जिम्मेवारी दिएका छन्। जनताको विश्वासमा आघात नपुग्ने गरी काम गर्नु हाम्रो दायित्व हो,’ सभामुख अर्यालले भने।
उनले संघीयता सुदृढीकरणका लागि प्रदेश सभाहरूबीच समन्वय, अनुभव आदानप्रदान र सहकार्य आवश्यक रहेको बताए।
संसदीय गतिविधिलाई प्रभावकारी बनाउन समय व्यवस्थापन, डिजिटल प्रणालीको प्रयोग तथा विषयकेन्द्रित छलफलको संस्कृतिको विकास गर्नुपर्नेमा उनले जोड दिए।
सभामुख अर्यालले कानुन निर्माण प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र जनमुखी बनाउन सरोकारवालासँग पर्याप्त परामर्श गर्नुपर्ने उल्लेख गरे।
साथै, संघीय संसदका समितिहरूबाट हुने अनुगमनलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा सभामुख अर्यालले सुदूरपश्चिम प्रदेश सभाका सभामुखलाई सम्मेलनको सन्देशपत्र हस्तान्तरण गरेका थिए। आगामी १२औँ अन्तर व्यवस्थापिका सम्मेलन कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय पनि गरिएको छ।
टीकापुरमा सम्पन्न ११औँ अन्तर व्यवस्थापिका सम्मेलनले नौबुँदे सन्देशपत्र जारी गरेको छ। सन्देशपत्रमा सबै प्रदेश सभामा डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने, अन्तर व्यवस्थापिका मञ्चको सचिवालय संघीय संसद सचिवालयअन्तर्गतको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखामार्फत सञ्चालन गर्ने, क्षमता अभिवृद्धिका लागि व्यवस्थापिकीय प्रतिष्ठान स्थापना गर्न पहल गर्ने तथा संसदीय बजेट कार्यालय स्थापना प्रक्रियालाई अघि बढाउनेलगायतका विषय समेटिएका छन्।