सहकारीले रोजगारी र लगानीमा महत्वपूर्ण भूमिका खेलेको छ : सचिव भुजेल
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
244
Shares
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताएका छन् ।
बहुनियामक व्यवस्थाका कारण सहकारी क्षेत्रमा देखिएको अन्योलता र त्यसको समाधानका उपायबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव भुजेलले सहकारीलाई प्रवर्द्धन गर्नुको विकल्प नभएको उल्लेख गरेका हुन् । उनले सरकारले सहकारी क्षेत्रमा हस्तक्षेप गर्ने नभई सहयोगीको भूमिका निर्वाह गर्ने बताए ।
उनले भने, ‘यो सहकारी अर्थतन्त्रको एउटा महत्वपूर्ण अंग हो। यसलाई प्रवर्द्धन गर्नुको कुनै विकल्प छैन। सरकारले सहकारीलाई प्रवर्द्धन गर्न एउटा सहयोगीको भूमीका निर्वाह गर्ने हो, सरकारले हस्तक्षेप गर्ने होइन । त्यसकारण सहकारीको ठूलो योगदान छ । यसले पूँजी संकलन गर्न, लगानी बढाउन, रोजगारी सिर्जना गर्न सहकारीले विशेष भूमिका खेलेको छ । समावेशीकरण गर्नको लागि, सशक्तीकरण गर्नको लागि समग्र अर्थतन्त्रलाई एउटा गतिशिल बनाउनका लागि भूमिका खेलेको छ ।’
उनले सहकारीले पूँजी संकलन, लगानी विस्तार तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याएको बताए । साथै, समावेशीकरण र नागरिक सशक्तीकरणमार्फत समग्र अर्थतन्त्रलाई गतिशील बनाउन पनि सहकारी क्षेत्रले उल्लेखनीय भूमिका खेलेको उनले बताए ।
सचिव भुजेलले सहकारी क्षेत्रको दिगो विकास र प्रभावकारी सञ्चालनका लागि आवश्यक नीतिगत सुधार तथा समन्वयलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै यसको थप प्रवद्र्धनमा सबै पक्षको ध्यान जानुपर्ने बताए ।