बुचाकोट बस दुर्घटना अपडेट: आठ जनाको घटनास्थलमै मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
423
Shares
काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ।
बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २:१५ बजे अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
दुर्घटनामा परेर बसका चालकसहित अन्य १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विस्टले जानकारी दिए।
डीएसपी विस्टका अनुसार दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ र उनीहरूको त्यहीँ उपचार भइरहेको छ।
प्रहरीले घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको र घटनाको विस्तृत विवरण तथा मृतकहरूको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।