राजनीतिक उपेक्षाले साहित्य क्षेत्र कमजोर बन्यो: मन्त्री तिमिल्सिना
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
235
Shares
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृतिलाई राष्ट्रको शक्ति र पहिचानको आधार भन्दै यिनको संरक्षणबिनाको समृद्धि अपूरो हुने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित ‘मधुपर्क सम्मान-२०८३’ कार्यक्रममा उनले भौतिक पूर्वाधार र आर्थिक विकाससँगै सांस्कृतिक विकासलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
मन्त्री तिमिल्सिनाले साहित्यलाई राष्ट्रको “बल र पहिचान” भन्दै यसलाई जोगाउन सरकार गम्भीर रहेको बताए ।
उनले बदलिँदो प्रविधिसँगै सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको नयाँ माध्यम बनेको उल्लेख गर्दै साहित्यको प्रस्तुति र पहुँचमा नयाँ सम्भावना खुलेको धारणा राखे ।
साहित्यिक संस्थाहरू आर्थिक रूपमा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले संस्थागत सुधार, पारदर्शिता र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए ।
“सरकार व्यवस्थापक मात्र हो, जनताको पैसा सही रूपमा प्रयोग हुनुपर्छ,” उनले भने । विगतमा संस्थाहरूलाई राजनीतिक भर्ती केन्द्र बनाइएकाले धेरै संस्था कमजोर बनेको उनको टिप्पणी थियो ।
कार्यक्रममा ‘मधुपर्क सम्मान-२०८३’ अन्तर्गत पद्यतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ कथाकार भाउपन्थी तथा ‘मधुपर्क प्रतिभा सम्मान’बाट डा. गीता त्रिपाठीलाई सम्मान गरिएको छ ।
उनीहरूलाई सम्मानपत्रसहित रु ५० हजार नगद प्रदान गरिएको गोरखापत्र संस्थानले जनाएको छ । पूर्वसम्पादक कपिल घिमिरेलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित साहित्यकार यादव खरेलले सूचना प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै साहित्यिक सिर्जना र पठन संस्कृतिमा ह्रास आउन थालेको चिन्ता व्यक्त गर्दै प्रविधिको उपयोगसँगै पठन संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताए ।