गाईमारे चुरे क्षेत्रमा टेम्पो भिरबाट खसेको घटनाबारे वन कार्यालयको स्पष्टीकरण
दुर्घटनावश खसेको हो, नियतवश होइन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
384
Shares
काठमाडौँ । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वन अन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयलाई लिएर डिभिजन वन कार्यालयले आफ्नो आधिकारिक स्पष्टीकरण दिएको छ। कार्यालयले आज आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी वनका कर्मचारीहरूले जानाजान र नियतवश भिरबाट टेम्पो नखसालेको स्पष्ट दाबी गरेको हो।
कार्यालयका अनुसार भिरतर्फ धकेलिएको भनिएको उक्त टेम्पो गुड्ने वा चल्ने अवस्थामा नै थिएन। त्यसको चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको र वन क्षेत्र अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको टहरो (खोका-छाप्रा) का रूपमा कवाडी संरचना बनाएर पसल थाप्न प्रयोग हुँदै आएको थियो।
कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डा. रामविचारी ठाकुरले गाईमारे क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील भएकाले त्यहाँ भइरहेको वन अतिक्रमण नियन्त्रण गर्न नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको जानकारी दिए। उनका अनुसार सार्वजनिक वन क्षेत्रलाई गैरकानुनी रूपमा कब्जा गरी खोका–छाप्रा निर्माण गर्ने र त्यसलाई किनबेच समेत गर्ने गतिविधि लामो समयदेखि चल्दै आएको छ।
कार्यालयले करिब पाँच महिनाअघि सो क्षेत्रमा पुनः अवैध संरचनाहरू निर्माण गरिएको फेला पारेको थियो। ती संरचना हटाउनका लागि एक महिनाअघि नै निर्देशन र चेतावनी दिइएको थियो। वन कार्यालयको निर्देशनपछि केही छाप्राहरू हटाइए पनि स्थानीय घनश्याम धामीले कवाडी टेम्पो प्रयोग गरेर थापेको पसल भने हटाउन अटेर गरिएको वन कार्यालयले जनाएको छ।
यसअघि पनि वन कर्मचारीले उक्त कवाडी टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिएको भए पनि पछि पुनः सोही प्रतिबन्धित स्थानमा ल्याई पसल सञ्चालन गरिएको कार्यालयको भनाइ छ।
यही जेठ २९ गते पुनः अतिक्रमण हटाउने नियमित अभियानका क्रममा सम्बन्धित घरधनीले टेम्पो हटाउन ठाडो रूपमा अस्वीकार गरेका थिए। ‘जे गर्नुस् गर्नुहोस्, म हटाउँदिन’ भन्दै वन टोलीलाई गालीगलौज गरेपछि कार्यालयको टोली आफैँले गुडाउन नमिल्ने अवस्थामा रहेको उक्त टेम्पोलाई त्यहाँबाट हटाउने प्रयास गरेको थियो। सोही क्रममा त्यहाँको भिरालो भू-बनावट र असन्तुलनका कारण टेम्पो अनियन्त्रित भई दुर्घटनावश भिरबाट खसेको कार्यालयले स्पष्ट पारेको छ।
वन कार्यालयका कर्मचारीहरूले आफूहरूले कानुन अनुसार नै वन संरक्षण तथा अतिक्रमण नियन्त्रणको काम गरिरहेको उल्लेख गर्दै यस दुर्घटनाको घटनालाई अतिरञ्जित वा भ्रामक रूपमा प्रस्तुत नगर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेका छन्।